नेपाल-भारत ऊर्जा सहकार्य बैठक सम्पन्न, प्रसारण लाइन र जलविद्युत् आयोजनालाई तीव्रता दिने सहमति

काठमाडौँ । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति र संयुक्त कार्यसमूहको १३औँ बैठक पोखरामा सम्पन्न भएको छ ।

नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा संयुक्त निर्देशक समितिको बैठक बुधबार सम्पन्न भएको हो । यसअघि मंगलबार दुवै देशका सहसचिवहरूको सहअध्यक्षतामा संयुक्त कार्यसमूहको १३औँ बैठक बसेको थियो ।

बैठकमा नेपाल–भारतबीच जलविद्युत् आयोजना विकास, विद्युत् व्यापार तथा प्रसारण पूर्वाधार निर्माणको प्रगतिबारे विस्तृत समीक्षा गरिएको थियो ।

दुवै पक्षले चार सय केभी क्षमताको गोरखपुर–नयाँ बुटवल प्रसारण लाइनसहित नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै निर्माणाधीन तथा प्रस्तावित विद्युत् उत्पादन र प्रसारण आयोजनालाई छिटो कार्यान्वयन गर्ने उपायबारे छलफल गरेका छन् ।

त्यसैगरी नेपाल र भारतको विद्युत् प्रणालीको समन्वित सञ्चालन, सौर्य ऊर्जा आयोजना विकास, हरित हाइड्रोजन क्षेत्रमा सहकार्य तथा नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका विषयमा पनि विचारविमर्श भएको थियो ।

संयुक्त निर्देशक समितिको बैठकअघि भारतका विद्युत् सचिव पंकज अग्रवालले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीराजभक्त श्रेष्ठसँग मंगलबार शिष्टाचार भेटवार्ता गरेका थिए ।

बैठकमा भएका छलफलले नेपाल–भारत ऊर्जा क्षेत्रको सहकार्यलाई थप प्रभावकारी र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।