गर्भवतीलाई पोषणयुक्त खाद्य सामाग्री वितरण

मन्मा (कालीकोट), २६ असारः जिल्लाको महावै गाउँपालिकामा गर्भवतीलाई पोषणयुक्त खाद्य सामाग्री वितरण गरेएको छ । गाउँपालिकाले १२५ जना सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण कार्यक्रममा गरिएको हो ।

सुत्केरी भएका आमाहरुले राम्रो खानेकुरा खान नपाएका कारण शिशुलाई कुपोषण हुने तथा आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले पोषणयुक्त खाद्यान्न वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

सुनौला हजार दिनका आमाहरुलाई अण्डा, चना, तेल, पोषिलो पिठो, नुन, साबुनलगायतका सामग्री दिइएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । “गर्भावस्थादेखि बच्चा दुई वर्षको नहुँदासम्मको अवधिलाई सुनौला हजार दिनका समयमा आमा र बच्चाको पोषणयुक्त वृद्धि र विकासका लागि पोषणयुक्त खानाको आवश्यकता पर्छ”, उहाँले भन्नुभयो, “पालिकाले बच्चाको शारीरिक तथा मानसिक विकासमा गर्भावस्था र सुरुका दुई वर्षमा हुने भएकाले कुपोषण हुन नदिनका लागि पोषणयुक्त खाद्यान्न वितरण गरिएको हो ।”

एक जना सुनौलो हजार दिनका आमालाई रु तीन हजार बराबरको पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको जानकारी दिनुभयो । “सुत्केरी भएका हजार दिनका आमालाई पोषणयुक्त कोसेली वितरण गर्न थालेका छौँ । कोसेलीले आमा र बच्चाको स्वास्थ्य राम्रो हुनेछ”, उहाँले भन्नुभयो, “सुनौलो हजार दिनमा आमा र बच्चाको स्वास्थ्यमा टेवा पु¥याउने गरी योजना निर्माण गरेर गाउँपालिकाले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ ।”

मातृशिशुको वृद्धि विकासका लागि पोषणयुक्त खानाको सेवन अपरिहार्य रहेको र कुपोषणबाट बचाउनका लागि आमा र बच्चालाई पोषणको मात्रा कमी हुन नदिन पोषणयुक्त खाद्यान्न वितरण गाउँपालिका पोषण संयोजक लोकेश पोख्रेलले बताउनुभयो । “पालिकाका सात वटा वडाका सुनौला हजार दिनका आमालाई खाद्यान्न वितरण गरेका छौँ”, यहाँले भन्नुभयो, “आगामी दिनमा यसको निरन्तरता दिइनेछ ।”

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।