गभर्नर डा. पौडेलको हस्ताक्षर भएको पाँच सयको नयाँ नोट आजदेखि प्रचलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षर भएको रु पाँच सय दरको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको छ ।

बैंकले नयाँ नोट पुरानै आकार र रङ्गमा तयार गरिएको जनाएको छ । नोटको संकेत नम्बर झ ३८ ट ८३ १०००००१ देखि ९९९९९९ सम्म रहने र यो नोट आजदेखि चलनचल्तीमा ल्याएको हो।

नोटको अगाडिको भागमा मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट पाँच सय रुपैयाँ तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्य लेखिएको छ । बायाँतर्फ सगरमाथा हिमालको चित्र राखिएको छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । तल्लो भागमा वि.सं. २०८२ लेखिएको छ । दृष्टिविहीन व्यक्तिले स्पर्श गरेर दर पहिचान गर्न सक्ने गरी पानीछापको बायाँतर्फ दुईवटा कालो थोप्ला पनि राखिएका छन् । सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र हल्का ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र रहेको छ ।

नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ । साथै ३.५ मिलिमिटर चौडाइको सुरक्षा धागो राखिएको छ, जसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ ।

नोटको पछिल्लो भागमा बीचमा पाटेबाघको चित्र राखिएको छ । त्यसको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ। तल्लो भागमा पाँच सय रुपैयाँ र संकेत नम्बर २०२५ इस्वी संवत् उल्लेख गरिएको छ ।

यसअघि २०७८ साल पुस ९ गतेदेखि पुरानो शृंखलाको पाँच सय दरको बैंकनोट प्रचलनमा ल्याउने सम्बन्धी सूचना प्रकाशित भएको थियो । नयाँ नोटसँग सम्बन्धित विवरण अद्यावधिक गर्दै हालको शृंखला अनुसार वितरण सुरु गरिएको जनाइएको छ ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।