काठमाडौँ । सेफ सन्तोष साह हाजिर जमानीमा रिहा भएका छन् । साह सोमबार साँझ हाजिर जमानीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
साहले चार लाख ५० हजार रुपैयाँ बिगो रकम बुझाएर रिहा भएका हुन् ।
साहलाई ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । सकुन्तला अधिकारीको जाहेरीको आधारमा उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले पक्राउ गरेको थियो । अधिकारीले गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्दा पूरा रकम भुक्तानी नगरेको भन्दै जाहेरी दिएकी थिइन् ।
साहविरुद्ध बैकिङ कसुरको अर्को मुद्दामा काठमाडौं जिल्ला अदालतले २०८२ जेठ ३० गते २५ लाख बिगो भएको मुद्दामा एक महिना कैद र एक लाख २५ हजार रुपैयाँ जरिवाना तोकेको समेत खुलेको छ ।
सो कसुरमा अदालतमा हाजिर हुन जाने म्याद बाँकी रहेकोले उनलाई हाल छोडिएको प्रहरीले जानकारी दिएको छ ।

