नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु

न

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ । 

कात्तिक १३ गतेसम्म सञ्चालन हुने बैठकमा सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र दुई देशका सुरक्षा निकायबीच समन्वय तथा सहकार्य अभिवृद्धिका विषयमा छलफल हुनेछ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व एसएसबीका महानिर्देशक सञ्जय सिंघलले गरेका छन् । दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित विभागका प्रतिनिधिहरू सहभागी छन् ।

बैठकमा मानव तस्करी, लागूऔषध तथा अवैध हातहतियारको ओसारपसार नियन्त्रण, दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण तथा मर्मतसम्भार र सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने विषयमा छलफल हुनेछ ।

त्यस्तै, खुला सीमाबाट तेस्रो मुलुकका नागरिकको अवैध आवागमन नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराधबारे सूचना आदानप्रदान, आधुनिक प्रविधिको प्रयोग तथा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यमा संयुक्त सहकार्य बढाउने विषय पनि बैठकको कार्यसूचीमा छन् ।

सीमावर्ती नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने, यात्रु सहायता कक्ष थप गर्ने तथा दुवै सुरक्षा निकायबीच क्षमता अभिवृद्धि र संस्थागत सहयोग बढाउने विषयमा समेत छलफल हुने जनाइएको छ । 

बैठकले नेपाल–भारत सीमामा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न दुई देशका सुरक्षा निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।