संगीता मिश्रालाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौँ । स्वास्थ्य सेवा विभागकी पूर्वमहानिर्देशक संगीता कौशल मिश्रालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले मिश्रलाई सफाइ दिएको हो ।

पूर्वमहानिर्देशक मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद सापकोटा, शम्भुप्रसाद ढकाल, सीता भन्ने सीता घिमिरे र तिलकराम ढकालले पनि विशेष अदालतले सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रासहित १४ जनाविरुद्ध २०८२ कात्तिक २ गते मेमोग्राफी मेसिन खरिद प्रक्रियामा लागत अनुमान तयार गर्ने चरणदेखि नै मिलेमतो गरी ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी कार्य सम्पन्न गरिएको र ठेक्का सम्झौताको सर्तअनुसार सम्पूर्ण सामग्री नआईकनै झुटो तथा नक्कली बिलबिजक तयार गरी १३ करोड ३७ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरिएको आयोगको दाबी गर्दै मुद्धा दायर गरेको थियो । 

ठेक्काको लागत अनुमान १२ करोड ७५ लाख रुपैयाँ स्वीकृत गरिएकामा आपूर्तिकर्ता कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालिले १२ करोड ५५ लाख रुपैयाँ प्रस्ताव राखेको थियो । ठेक्का प्रक्रिया सुरु हुनुअघि नै आपूर्तिकर्ता कम्पनीसँग गोप्य विवरण साझा गरिएको र सम्पूर्ण खरिद प्रक्रिया मिलेमतोमै भएको प्रमाणित भएको दाबि अख्तियारको थियो ।

उत्पादन कम्पनी जनरल मेडिकल मिरेटटि इटलीबाट पठाइएको सामानको वास्तविक मूल्य करिब ६ करोड ८५ लाख रुपैयाँ मात्र रहे पनि विभागले झन्डै १४ करोड १८ लाख मूल्यमा भुक्तानी गरेको अख्तियारको दावी थियो । 

विशेष अदालतले श्रवणकुमार थापा, सुरेन्द्रप्रसाद चौरासिया, आशिष चौहान,पद्या मिश्र र सञ्जयकुमार साहलाई भने भ्रष्टाचारमा दोषी ठहर गरेको छ । उनीहरुलाई जनही ५ लाख ४७ हजार ८ सय बिगो, २० हजार जरिवाना र ४ महिना कैदको फैसला सुनाएको हो । विशेष अदालतले सप्लायर्स सुन्दर भुसाललाई मतियारको रुपमा दोषी ठहर गर्दै ५ लाख ४७ हजार बिगो र २० हजार जरिवाना तोकेको छ ।

About the author

Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।