खुकुरी देखाएर कुटपिटको भिडियो सार्वजनिक गर्ने युवक लागुऔषधसहित पक्राउ

दाङ । तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक युवक लागुऔषधसहित पक्राउ परेका छन्।

तुलसीपुर उपमहानगरपालिका–०२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिएर कुटपिट गरेको भिडियो मंगलबार साँझ ८:३० बजे आफ्नै फेसबुक आईडीमार्फत पोस्ट गरेका थिए।

भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई मंगलबार राति १०:४० बजे आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउका क्रममा उनको साथबाट विभिन्न प्रकारका लागुऔषधसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको साथबाट प्रेगाब्याक्स एक ट्याब्लेट, ट्रोहमो ४१ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र नाइट्राजोहम ५ ट्याब्लेट फेला परेको छ।

त्यसै क्रममा तुलसीपुर–०२ बालापुर बस्ने २१ वर्षीय जिवराज खत्रीलाई पनि नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।