अर्थ समितिले आ.व.२०८३/८४ को बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ । 


समितिको चौथो बैठकले आठ जना विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आगामी बैठकमा बोलाएर सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो । समिति सभापति कृष्णहरि बुढाथोकीले बैठकमा समितिअन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रश्तुत गरेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार उपसमितिहरूले विभिन्न विषयमा देखिएका ग्याप तथा फाइन्डिङहरू समितिसमक्ष राखेका थिए । साथै, केही सांसदहरूले वर्तमान बजेट तथा बजेट तर्जुमा प्रक्रियासम्बन्धी विषय उठाएका थिए । समितिले उपसमितिहरूलाई पनि आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषय समेटेर बजेट तर्जुमाका सन्दर्भमा थप ५ देखि १० वटा सुझाव तयार गरी आगामी बैठकमा पेश गर्न निर्देशन दिएको बुढाथोकीले जानकारी दिनुभयो । 


सभापति बुढाथोकीले भन्नुभयो–‘आज अर्थ समितिको चौथो बैठक सम्पन्न भएको छ बैठकमा मुख्यतः अर्थ समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो रिपोर्टिङ प्रश्तुत गर्नुभयो । उहाँहरूले विभिन्न विषयवस्तुमा देखिएका ग्याप तथा फाइन्डिङहरू समितिसमक्ष प्रश्तुत गर्नुभयो ।  केही सदस्यहरूले वर्तमान बजेट तथा बजेट तर्जुमासम्बन्धी विषयहरू पनि उठाउनु भयो । सोही सन्दर्भमा समितिले आठ जना विज्ञहरूको नामावली आज पारित गरेको छ । उहाँहरूलाई आगामी बैठकमा बोलाएर आर्थिक वर्ष २०८३÷८४ को बजेट तर्जुमाका विषयमा सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक परामर्श लिने निर्णय गरिएको छ ।’


अर्थ समितिले विज्ञहरूको सुझाव, उपसमितिहरूको प्रतिवेदन तथा सांसदहरूले उठाएका विषयलाई आधार बनाएर आगामी बजेटबारे सरकारलाई थप सुझाव र निर्देशन दिने तयारी गरेको उहाँको भनाइ छ ।

About the author

Jayanti Shiwakoti

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।