स्यानिटरी प्याडमा कर हटाउन र हानिकारक वस्तुमा ‘सिन ट्याक्स’ बढाउन सांसद यादवको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरुषोत्तम यादवले महिलाका लागि अत्यावश्यक सामग्री स्यानिटरी प्याडमा लगाइएको कर तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ । 


प्रतिनिधि सभाको मंगलवारको बैठकमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै सांसद यादवले महिनावारी कुनै रहर नभई महिलाको प्राकृतिक आवश्यकता भएको बताउनुभएको हो । उहाँले महिनावारीको समयमा सुरक्षित र स्वस्थ रहन पाउनु हरेक महिलाको मौलिक हक र सम्मानको विषय भएको उल्लेख गर्नुभयो ।

सरकारको दोहोरो मापदण्डप्रति प्रश्न उठाउनु भयो । उहाँले महिनावारीलाई राजश्वको स्रोत बनाउने राज्यले समानता र महिला सशक्तीकरणका बारेमा बोल्ने नैतिक अधिकार नराख्ने टिप्पणी गर्नुभयो । सांसद यादवले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने चुरोट, मदिरा जस्ता पदार्थमा ‘सिन ट्याक्स’ थप वृद्धि गर्न सुझाव दिँदै महिलाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्यानिटरी प्याडमा कर लगाइरहनु राज्यको असंवेदनशीलताको प्रतिक भएको बताउनु भयो । 


सांसद यादवले भन्नुभयो, ‘एकातिर महिला सशक्तीकरण र लैंगिक समानताका ठूला भाषण गर्ने, अर्कोतिर स्यानिटरी प्याड जस्तो आधारभूत आवश्यकताका सामग्रीमा कर लगाउने कार्य सामाजिक न्यायको सिद्धान्त विपरीत छ । यो केवल आर्थिक मुद्दा मात्र होइन, यो महिलाको प्रतिष्ठा, स्वास्थ्य र समान अवसरको प्रश्न पनि हो ।’


स्यानिटरी प्याडमा लाग्दै आएको कर पूर्ण रूपमा खारेज गर्न सरकारसँग माग गर्नुभयो ।

About the author

Jayanti Shiwakoti

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।