नेपाल हस्तकला मेला तथा सांस्कृतिक प्रदर्शनी हुँदै

काठमाडौँ, ४ जेठः काठमाडौँको बालुवाटारमा यही जेठ ८ गतेदेखि नेपाल हस्तकला मेला तथा सांस्कृतिक प्रदर्शनी आयोजना हुने भएको छ । नेपाल हस्तकला महासङ्घले विभिन्न प्रदेश तथा जिल्लास्तरमा उत्पादित हस्तकला वस्तुको प्रदर्शनी एवं प्रचारप्रसार गरी स्थानीय हस्तकला उद्यमीलाई बजार पहुँचमा सहयोग पुर्‍याउनाका साथै हस्तकला उत्पादनको व्यावसायिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले यही जेठ ८ देखि १० गतेसम्म उक्त प्रदर्शनी गर्न लागेको हो ।

हस्तकला क्षेत्रले लाखौँको सङ्ख्यामा स्वरोजगारको अवसर सिर्जना गरिरहेको छ । भारत चीनलगायत तेस्रो विश्वका देशहरुमा वार्षिक २८ अर्ब बराबरका विभिन्न हस्तकलाका वस्तु निर्यात भइरहेका छन् । हस्तकलालाई कृषिजन्य उद्योगपछि देशभरि विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको जानकारहरू बताउँछन् । यसले देशको कला, संस्कृति र सम्पदाको प्रतिनिधित्व गरिरहेको छ ।

मेलाको आकर्षणका रूपमा हस्तकला प्रदर्शनी तथा विक्री कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रम तथा प्रदर्शन, स्थानीय उद्योगी, कलाकार/कालिगढको सीप प्रदर्शन, स्थानीय उत्पादन तथा परम्परागत परिकारको स्वाद रहेको महासङ्घले आज पत्रकार सम्मेलनमार्फत महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिनुभयो ।

मेलामा काठमाडौँ उपत्यकाभित्रका जिल्लालगायत सङ्खुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया काभे्रपलान्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहँु, पाल्पा बागलुङ आदि जिल्लाबाट त्यहाँका स्थानीय जिल्ला सङ्घहरूको सभागिता रहने महासङ्घका अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

यस कार्यक्रमबाट स्थानीय हस्तकला उत्पादनको बजार विस्तार हुने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित हुने, स्थानीय उद्योगी, कलाकार/कालिगढहरुको सीप, क्षमता तथा मनोबल अभिवृद्धि हुने, मूर्त र अमूर्त कलासंस्कृति एवं परम्परागत परिकारको संरक्षणमा सहयोग पुग्ने विश्वास लिइएको छ । मेलामा हस्तकलालगायत अन्य नेपाली निकासी सम्भाव्यता भएका वस्तुहरूका करिब ७० वटा कक्ष राखेर वस्तु तथा सेवा प्रदर्शन गरिने छन् ।

About the author

Srijana Puri

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।