त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड

दैलेख, ४ जेठः छिमेकी मित्रराष्ट्र भारत र चीनलाई जोड्ने रणनीतिक महत्वको त्रिदेशीय ‘महाबु सडकखण्ड’ अन्तर्गतको बोटो स्तरोन्नति गर्न र ट्रयाक खोल्न सङ्घीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ ।

समुद्र सतहदेखि चार हजार १६८ मिटर उचाइमा अवस्थित धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण महाबु लेकमा आयोजित स्थानीय तहका जनप्रतिनिधि एवं जिल्लास्थित सरकारी अधिकारी सम्मिलित बैठकले सो निर्णयसहित छबुँदे प्रस्ताव सर्वसम्मत रुपमा पास गरेको हो ।

दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा बसेको संयुक्त बैठकले महाबु सडक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आवश्यक बजेट व्यवस्था गरिदिन प्रदेश तथा सङ्घीय सरकारसँग अनुरोध गरेको हो ।

दैलेख जिल्ला नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले राख्नुभएको उक्त प्रस्ताव सर्वसम्मत रुपमा पास भएको महाबु गाउँपालिकाका प्रमुख जङ्गबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले चीनको नाक्चेनाग्लादेखि भारतको जमुनाह नाकालाई जोड्ने सो सडक निर्माण हुनसके दैलेख, कालीकोट, सुर्खेतसहित समग्र कर्णाली प्रदेश लाभान्वित हुने धारणा व्यक्त गर्नुभयो ।

बैठकमा नौमूले गाउँपालिकाका प्रमुख छविराम सुवेदीले सो सडकको स्तरोन्नतिसहित निर्माण सम्पन्न भए वातावरण तथा जैविक विविधताको संरक्षण र सम्वद्र्धन, पर्यापर्यटनको विकास एवं विस्तार, कृषि क्षेत्रमा आत्मनिर्भर, शिक्षा, स्वास्थ्य र सुरक्षाका क्षेत्रमा उल्लेखनीय प्रगति भई जनताको जीवनस्तर सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीले दुवै जिल्लाका अन्तरपालिकाका जनप्रतिनिधि सम्मिलित ‘महाबु बैठक’को निर्णयबाट शान्तिसुरक्षा अमनचयन कायम गर्न अझ सहज हुने बताउनुभयो ।

कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपानेले बैठकबाट पारित निर्णयलाई प्रदेशसभामा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
–––

About the author

Srijana Puri

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।