प्रतिनिधि सभाका सांसदहरूले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति कमजोर हुँदै गएको भन्दै ग्रीन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् । रासायनिक मलको प्रयोगका कारण उत्पादन घट्दै गएको तथा जनस्वास्थ्यमा समेत गम्भीर असर परिरहेको भन्दै रासयनिक मलको विकल्पमा जोड दिनुपर्ने उनीहरुको भनाइ छ । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले विद्युत प्रयोगमार्फत ग्रीन हाइड्रोजन प्रविधिबाट मल उत्पादनतर्फ सरकार अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले किसानहरू मल माग्न सिंहदरबार धाउनुपर्ने अवस्थाको अन्त्य गर्न कृषि मन्त्रालयले प्रभावकारी रुपमा काम गर्नुपर्ने समेत बताउनु भयो । सांसद खनालले इजरायलको उदाहरण दिँदै नेपालमा कृषि उत्पादनको ठूलो सम्भावना रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विद्युत प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गर्ने कुरा गर्नुपर्छ । आज माटोमा खेलेर हाम्रो भोक मेटाइरहेका नागरिकहरुले मलको माग गर्दै सिंहदरबार आउनुपर्ने आवश्यकता छ । आज उनीहरुको पक्षमा बोल्ने सरकार आएको छ । तर यसका लागि कृषि मन्त्रालयले दक्षताका साथ काम गर्नुपर्ने हुन्छ । बालुवा मात्रै भएको इजरायले सुन फलाउनसक्छ भने हामी पहाड, हिमाल र तराई भएको देशका नागरिक हौँ हामीले के फलाउन सक्दैनौँ ? त्यसकारण यसतर्फ लागौँ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले हरेक वर्ष दोहोरिने मल अभाव अन्त्य गर्न सरकारले स्पष्ट रोडम्यापका साथ काम गर्नुपर्ने बताउनु भयो । उहाँले मल आपूर्तिलाई सहज बनाउन स्वदेशमै मल कारखाना स्थापना गर्ने नीतिसहित सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले किसानको समस्या हल गर्दै कृषि पेशालाई सम्मानित बनाएर युवा पलायन रोक्न आवश्यक रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हरेक वर्ष मलको समस्याको विषय उठ्छ । यसको संकट मोचनको लागि के गर्ने त ? कुनै मल कारखाना बनाउने कि नबनाउने ? हामी अगाडि बढेनौँ भने हरेक वर्ष सिजनमा मल छैन भनेर बस्ने हो । यति धेरै राजनीतिक रुपमा मुलुकमा परिवर्त हुँदा पनि मलको समस्या हल भएन । त्यसकारण यो मलको समस्या हल गरौँ र कृषि पेशालाई सम्मानित गरेर युवा पलायन रोकौँ ।’
नेपाली काँग्रेसकी सांसद गीताकुमारी सेन्दाङले किसानलाई आवश्यक रासायनिक मल यथाशक्य उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । कृषकको लगानीका आधारमा सरकारले मल आपूर्ति सुनिश्चित गर्नुपर्नेमा उहाँको जोड छ । सांसद सेन्दाङले बाँझो जमिन उपयोगमा ल्याउन सुकुम्बासी नागरिकलाई लिजमा जमीन उपलब्ध गराउने नीति ल्याउन समेत सरकारलाई सुझाव दिनुभयो । विदेशमा रहेका युवालाई समेत कृषि र बाँझो जमिनसँग जोड्ने वातावरण सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिले तत्कालको लागि किसानलाई रासायनिक मलको आपूर्ति गरिदिनुपर्छ । कृषकले गरेको लगानीका आधारमा उनीहरुलाई आवश्यक पर्ने मल सरकारले उपलब्ध गराउनुपर्यो । अहिले सुकुम्बासीको कुरा आएको छ । सरकारले बाँझो जमिनमा सुकुम्बासी नागरिकलाई लिजमा दिएर हुन्छ कि के गरेर हुन्छ बिना लगानी काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । विदेशमबाट युवाहरुलाई समेत बाँझो जमिनसँग जोड्नुपर्छ ।’
बैठकमा बोल्ने अधिकांश सांसदहरूले बाँझो जमिनलाई खेतीयोग्य जमिनमा रूपान्तरण गरी सुकुम्बासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको हो । –न्युज एजेन्सी नेपाल
