कास्कीमा प्रहरी प्रमुखकै नेतृत्वमा ‘सरप्राइज चेकिङ’, सडकमै उत्रिए वरिष्ठ अधिकारी

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नं. २५, हेमजामा विशेष ‘सरप्राइज चेकिङ’ गरेको छ । 
सवारी दुर्घटना न्युनिकरण तथा प्रहरीको कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले जिल्लाका उच्चपदस्थ प्रहरी अधिकारीहरू आफैँ सडकमा उत्रिएर सवारी जाँच गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीको नेतृत्वमा भएको उक्त आकस्मिक चेकिङमा प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेत, इलाका प्रहरी कार्यालय डाँडाको नाकका डीएसपी गुणराज बुढाथोकी र वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराई लगायत जिल्ला मातहतका सम्पूर्ण प्रहरी निरीक्षकहरूको सहभागिता रहेको थियो । चेकिङका क्रममा सिनियर प्रहरी अधिकृतहरू आफैँले सवारी चालक र यात्रुहरूसँग सोधपुछ तथा सवारी साधनको जाँच गरेका थिए । अन्य दर्जाका प्रहरी कर्मचारीहरूलाई सवारी जाँच गर्ने सही तरिका, चालक तथा यात्रुहरूसँग गरिने शिष्ट व्यवहार र कार्यकुशलताका बारेमा व्यावहारिक ज्ञान सिकाउन यो अभ्यास प्रभावकारी भएको एसपी नवीन कार्कीले जानकारी दिनुभयो ।

अधिकृतहरूले चेकिङ गरिरहँदा अन्य सुरक्षाकर्मीहरूले त्यसको सुक्ष्म अवलोकन गरेका थिए । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने हेमजा खण्ड पछिल्लो समय ‘भाइरल रोड’ का रूपमा चर्चित छ । यस सडक खण्डमा सवारी साधनको गति तिब्र हुने र दुर्घटनाको जोखिम उच्च रहने भएकाले विशेष चेकिङ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताउनु भयो । सडक सुरक्षा सुनिश्चित गर्न र ट्राफिक नियमको पूर्ण पालना गराउन प्रहरीले यस्तो सक्रियता देखाएको हो । –न्युज एजेन्सी नेपाल

About the author

Jayanti Shiwakoti

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।