मध्यपूर्वमा तनाव र खराब मौसमले ट्रम्प चाँडै फर्किए ह्वाइट हाउस

वासिङ्टन डीसी, ४ भदाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याम्प डेभिडमा बिताउने तय भएको आफ्नो सप्ताहन्तको बसाइ छोट्याउँदै अपेक्षाभन्दा चाँडै ह्वाइट हाउस फर्किएका छन्।

पूर्वतय तालिका अनुसार ट्रम्प आइतबार स्थानीय समय अनुसार अबेर मात्र क्याम्प डेभिडबाट प्रस्थान गर्ने कार्यक्रम रहेको थियो।

अमेरिकी प्रशासनले राष्ट्रपतिको भ्रमण तालिकामा अचानक गरिएको यस परिवर्तनको औपचारिक कारण खुलाएको छैन। यद्यपि, साउदी अरब र यमनका हुथी विद्रोहीबीचको द्वन्द्व “तीव्र रूपमा बढ्न सक्ने” चेतावनी दिँदै अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूका लागि विशेष सूचना जारी गरेलगत्तै ट्रम्प ह्वाइट हाउस फर्किएका हुन्।

अर्कोतर्फ, पहाडी क्षेत्रमा अवस्थित क्याम्प डेभिडमा वर्षा र आँधीबेहरीको सम्भावना रहेको मौसम पूर्वानुमानलाई पनि यसको सम्भावित कारण मानिएको छ। सप्ताहन्तमा राष्ट्रपतिको भ्रमण तालिका मौसम लगायतका कारणले परिवर्तन हुनुलाई सामान्य रूपमा नै लिइन्छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।