काठमाडौं, २ असोज । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झासहित नौ केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएका छन् ।
पछिल्ला राजनीतिक घटनाक्रमहरुले पुराना शैली र पुराना व्यक्तिहरुबाट अब देशको राजनीति अगाडि बढ्ने स्थिति नरहेको भन्दै उनीहरूले शुक्रबार रामुपा छाडेको घोषणा गरेका हुन् ।
पार्टी छाड्नेमा महासचिव झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकजकुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिशिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राज छन् ।
‘देशका सबै जनता निराश छन्। जति संघर्ष आन्दोलन भएपनी जनताका न्यूनतम आवश्यकताहरु पनि पूरा भैरहेको अवस्था छैन। जुनै जोगी आए पनि कानै चिरेका भन्ने कथन चरितार्थ हुँदै आएको छ। यस्तो स्थितिमा हाम्रो मातृभूमिलाई सुहाउने वैचारिकीको आधारमा बलियो अर्थतन्त्रको निर्माण गर्न सहयोग मिल्ने अर्थ राजनीतिको सहारा लिई अगाडि बढ्नुपर्दछ। यस्को निम्ति सामाजिक सांस्कृतिक चेतना विकासको निम्ति अभियानमा निरन्तरता, राजनीतिक चेतनाको निम्ति संघर्षमा जोड दिदै आर्थिक चेतनाको निम्ति बिद्रोहको तयारी गर्दैछौं,’ विज्ञप्तिमा भनिएको छ ।
विचारसहितको विकल्प र विकल्पसहितको विद्रोहको निम्ति अबको यात्रा ‘हुंकार मधेश अभियान’ सँग हुने नेता झाले बताए । ‘छिट्टै यहाँहरुसमक्ष समाजका विभिन्न पक्षका सक्षम र योग्य व्यक्तित्वहरु एकताबद्ध भएर विस्तृत योजनासहित साक्षात्कार हुने प्रतिबद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

