अख्तियारमा धेरै उजुरी पर्ने १० स्थानीय तहमध्ये बाराका तीन

रौतहट २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी पर्ने देशभरका १० स्थानीय तहमध्ये बाराका तीन स्थानीय तह परेका छन्।

आयोगको आर्थिक वर्ष २०८२/८३ को ३६औँ वार्षिक प्रतिवेदनअनुसार पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका र जीतपुरसिमरा उपमहानगरपालिका धेरै उजुरी पर्ने स्थानीय तहको सूचीमा छन्।

प्रतिवेदनअनुसार पचरौता नगरपालिकाविरुद्ध अघिल्लो आर्थिक वर्षबाट ५३ वटा उजुरी जिम्मेवारी सरेका थिए भने २०८२/८३ मा थप ९५ वटा उजुरी दर्ता भएका छन्। त्यस्तै सुवर्ण गाउँपालिकासँग सम्बन्धित ३३ वटा पुराना उजुरीसहित नयाँ आर्थिक वर्षमा १३३ वटा उजुरी दर्ता भएका छन्।

जीतपुरसिमरा उपमहानगरपालिकामा ३९ वटा पुराना उजुरी जिम्मेवारी सरेकोमा २०८२/८३ मा थप १३० वटा उजुरी दर्ता भएको आयोगले जनाएको छ।

स्थानीय तहसँग सम्बन्धित उजुरीमा विकास निर्माण, सार्वजनिक खरिद, योजना कार्यान्वयन, आर्थिक कारोबार र सेवा प्रवाहलगायतका विषय समेटिने गरेका छन्।

तर अख्तियारमा उजुरी परेको मात्रै आधारमा कुनै स्थानीय तह वा पदाधिकारी दोषी ठहर हुँदैन। उजुरीमाथि हुने प्रारम्भिक छानबिन, विस्तृत अनुसन्धान र प्रमाणका आधारमा मात्रै दोष वा निर्दोषको टुंगो लाग्ने आयोगको प्रक्रिया छ।

आयोगका अनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर ६ हजार १९८ वटा उजुरी दर्ता भएका थिए। बाराका तीन स्थानीय तह शीर्ष १० मा पर्नुले स्थानीय सरकारका कामकारबाहीप्रति नागरिकको निगरानी र चासो बढेको संकेत गरेको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।