सांसद यज्ञमणि न्यौपानेको प्रश्न- रसुवा विपद्का राहत सामग्री विमानस्थलमा किन अलपत्र छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले रसुवा विपद्का लागि विभिन्न देश तथा दातृ निकायबाट आएका राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमै अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लत्ताकपडालगायतका सामग्री लामो समयदेखि विमानस्थलमै थन्किएको तस्विर देखाउदै भन्सारलगायतका प्रक्रियाका कारण कतिपय संस्था सामग्री बुझ्नबाट फर्किने गरेको जानकारी पाएको पनि बताएका थिए ।

उनले भने- ‘ती सामग्रीहरू किन पठाइएको छैन भन्दा सम्बन्धित क्षेत्रबाट माग आएको छैन भन्ने जवाफ छ । म सरकारको ध्यानाकर्षण गराउँछु, यी सामग्रीहरू जसरी आए, त्यसरी नै खेर नजाऊन् । माग छ कि छैन, सम्बन्धित क्षेत्रका नागरिकहरूलाई बुझियोस् ।’

न्यौपानेले प्रभावित क्षेत्रमा सामग्री आवश्यक भए तत्काल पठाउन र आवश्यक नभए अन्य विपद्का लागि उचित व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन्  ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।