तुलसीपुरका थारु महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्दै

दाङ, २९ वैशाखः तुलसीपुर उपमहानगरपालिका-१५ अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारीखेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका छन् ।

अकमीगाउँसहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । यसबाट जीविकोपार्जन गर्न र छोराछोरीलाई पढाउन सजिलो भएको थारु महिला बताउँछन् ।

तुलसीपुर-१५ की ४४ वर्षीया स्यानी चौधरीले व्यावसायिक रूपमा तरकारीखेती गर्न थाल्नुभएको लामो समय बितिसकेको छ । उहाँले तरकारीखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई एक सफल महिला कृषकका रूपमा चिनाउनुभएको छ ।

उहाँले मौसमी र बेमौसमी तरकारीसहित धनियाँ बिक्री गरेर वार्षिक रु चार लाखसम्म आम्दानी भइरहेको जानकारी दिनुभयो । आफूले उत्पादन गरेको धनियाँ र तरकारी बिक्री गर्न एकाबिहानै छिटुवा बोकेर तुलसीपुर बजारका घरघर पुग्नुहुन्छ ।

यसपटक मौसमी धनियाँ बिक्रीबाट मात्र रु दुई लाख ५० आम्दानी भएको स्यानीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बेमौसमी तरकारीखेती र धनियाँखेती गरेकी छु । उत्पादन मनग्य छ, दिनहुँजसो बजारमा बिक्री गरिरहेकी छु ।”

विसं २०५८ देखि यो पेसा अपनाएको बताउँदै स्यानीले १५ वर्षदेखि व्यावसायिक रूपमा खेती सुरु गरेको जनाउनुभयो । उहाँले हाल १० कट्ठा जमिनमा स्थानीय जातको बेमौसमी धनियाँखेती गर्नुभएको छ भने १० कट्ठा जमिनमा तरकारीखेती गर्नुभएको छ ।

एक वर्षमा दुईपटक मौसमी र बेमौसमी तरकारीखेती गर्दैै आएको बताउने उहाँले धनियाँ प्रतिमुठा रु २० मा बिक्री गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार बोडी, भिन्डी, करेला प्रतिकिलो रु एकसय २० सम्म बिक्री हुन्छ ।

तरकारी बेचेर भएको आम्दानीबाट स्यानीले गाउँमा १७ कट्ठा चार धुर जमिन जोडेको बताउनुभयो । हाल १० कट्ठामा धनियाँखेती र बाँकी जमिनमा बेमौसमी तरकारीखेती गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले तरकारी बिक्रीका लागि बनाइदिएको तरकारी केन्द्र बजारबाट टाढा रहेकाले त्यहाँ उपभोक्ता नजाँदा सडकमै बसेर बिक्री गर्नुपर्ने बाध्यता रहेको स्यानीले बताउनुभयो ।

तुलसीपुर-१५ की ५५ वर्षीया रेखा चौधरी पनि व्यावसायिक रूपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्नुभएको छ । उहाँले १५ कट्ठा जमिनमा टमाटर, काँक्रा, सिमी, भिन्डी, बोडीलगायत बेमौसमी तरकारीखेती गरिरहेको बताउनुभयो । उत्पादन गरेको तरकारी बिक्री गर्न दैनिकजसो बिहानै आफू तुलसीपुर बजारमा आउने गरेको उहाँले जानकारी दिनुभयो ।

रेखाले भन्नुभयो, “पहिला हामीले धानखेती गर्दथ्यौँ, तर त्यसबाट मात्र मनग्य आम्दानी लिन नसकेपछि धानखेती छाडेर छ वर्षदेखि तरकारीखेती गरेका छौँ, दुःख भए पनि आम्दानी प्रशस्त हुन्छ । तर सडक छेउमा बसेर तरकारी बेच्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम छ ।” सडक छेउमा बसेर एक वर्षमा रु चार लाखसम्म आम्दानी भइरहेको उहाँले जानकारी दिनुभयो ।

तुलसीपुर-१५ की ४० वर्षीया राजपति चौधरीले तरकारीखेतीमा रमाउँदै वार्षिक रु तीन लाख ५० हजारसम्म आम्दानी गरिरहनुभएको छ । उहाँले १४ कट्ठा जमिनमा व्यावसायिक रूपमा मौसमी र बेमौसमी तरकारीखेती गरेर आत्मनिर्भर बन्नुभएको छ । तरकारीखेतीबाटै भएको आम्दानीले दुई छोराछोरीलाई कृषि प्राविधिक विषय पढाउन सजिलो भएको उहाँले बताउनुभयो ।

सामान्य लेखपढ गरेको बताउने राजपतिले यो पेसामा टिकाइराख्न महिलालाई तरकारीको उचित मूल्य र बजारीकरण, सुरक्षित बिक्री गर्ने स्थान तथा उन्नत जातको बीउ र कीटनाशक औषधि, तालिमको व्यवस्था आवश्य रहेको भन्दै स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

यी तीन महिला मात्रै होइन अकमी, धम्कापुर, मटेरा, मेटेरी, गोलौरी, पड्डालगायत गाउँका ५०० बढी थारु महिला तरकारीखेतीमार्फत आत्मनिर्भर बन्दै आउनुभएको छ । तरकारीखेतीबाटै आत्मनिर्भर बन्दै जानुभएका उहाँहरूमध्ये अधिकांशले दिनहुँ तुलसीपुरस्थित सीतलपुर चोकका सडक छेउमा बिहानैदेखि बसेर तरकारी बिक्री गर्दै आउनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले अकमी, धम्मकापुर, तथा आसपास क्षेत्रमा रहेका छ वटाभन्दा बढी गाउँका सयौँ थारु महिला तरकारीखेतीमार्फत आत्मनिर्भर बन्दै गएका बताउनुभयो । उहाँले उपनगरपालिकाभित्र तरकारीखेती गर्ने सबै कृषकद्वारा उत्पादित तरकारीको उचित मूल्य प्राप्त गर्न, बजारीकरणका लागि आफूहरू गम्भीर रहेको बताउनुभयो ।

उपप्रमुख चौधरीले तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको तरकारी बजार केन्द्रमा विभिन्न गाउँबाट तरकारी बिक्री गर्न आउने किसानका लागि बिहान ५ः०० बजेदेखि ७ः०० बजेसम्म समय छुट्याइएको बताउनुभयो । सो स्थान निःशुल्क रूपमा प्रदान गरिएको उहाँको भनाइ छ ।

“ग्राहक त्यस ठाउँमा आउन मान्दैनन् भन्ने किसानको गुनासो आएपछि हाललाई तुलसीपुर क्षेत्रका विभिन्न तीन ठाउँमा किसानलाई सडक छेउका फुटपाथमा सुरक्षित भएर तरकारी बिक्री गर्न अनुमति दिएका छौँ”, उपप्रमुख चौधरीले भन्नुभयो ।

यसैगरी, उहाँहरूलाई दिसापिसाव गर्न केही असहज भएकाले आसपासका होटेल तथा पसलका शौचालय प्रयोगका लागि उपमहानगरले समन्वय गरिरहेको जानकारी दिनुभयो । उपमहानगर क्षेत्रका धेरै किसान तरकारीखेतीमा आकर्षित भई आत्मनिर्भरतर्फ उन्मुख भइरहेकाले उपमहानगरले आवश्यक समन्वय र सहजीकरण गरिरहेको उहाँको भनाइ छ । विशेषगरी तरकारीखेतीले गर्दा महिलालाई आर्थिक रूपमा सक्षम बनाउन मद्दत पुगेको उहाँले बताउनुभयो ।

About the author

Srijana Puri

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।