कांग्रेस बैठकमा निवर्तमान पदाधिकारी तथा सदस्यहरू सहभागी हुने

काठमाडौँ, १ असोज । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा निवर्तमान कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई ससम्मान समावेश गर्ने निर्णय बिहीबार कार्यान्वयन हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई आत्मसात गर्दै निवर्तमान कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पार्टी कार्यालयमा आउने भएपछि कांग्रेस कार्यकर्तामा उत्साह छाएको छ ।

बिहीबार दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकका लागि निवर्तमान कार्यसमितिका सम्पूर्ण नेताहरूलाई औपचारिक पत्र पठाएर निमन्त्रणा गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

विशेष महाधिवेशनपछिका आन्तरिक असमझदारीहरूलाई संवाद र विधिको माध्यमबाट समाधान गर्दै सबै पक्षलाई मूलधारमा जोड्ने नेतृत्वको लचकतापूर्ण निर्णयपछि दर्जनौं निवर्तमान केन्द्रीय सदस्य सानेपा जाने भएका छन् । 

निवर्तमान कार्यसमितिका सबै सदस्यहरूको केन्द्रीय सदस्यको हैसियत सुनिश्चित भएसँगै दुवै पक्षका शीर्ष तथा प्रभावशाली नेताहरू एउटै मञ्चमा उपस्थित भई आगामी १५औँ महाधिवेशन सफल पार्ने अभियान सुरु हुने बताइन्छ ।

असोज १६ देखि १९ सम्म काठमाडौँको खुलामञ्चमा आयोजना हुन लागेको कांग्रेसको १५औँ महाधिवेशन र असोज ३ गतेदेखि प्रारम्भ हुने वडा तहको चुनावी प्रक्रियाको पूर्वसन्ध्यामा हुन लागेको यो बैठकलाई पुनर्जागरणको रूपमा हेरिएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।