ओखलढुंगा । मानेभञ्ज्याङ गाउँपालिका–९ राघवपुरमा ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मानेभञ्ज्याङतर्फ जाँदै गरेको लु.४ त १६७२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा मानेभञ्ज्याङ गाउँपालिका–८ का २० वर्षीय नवीन पुलामी मगर र ६२ वर्षीय छबिलाल तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा सवार तुलसी थापा मगर, भीमबहादुर सार्की र चालक मिलन राई सकुशल रहेका छन्। दुर्घटनामा ट्याक्टर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

