सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

म्याग्दी, २९ वैशाखः जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । धवलागिरि-४ मुदीमा रहेको दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको टावरमा विद्युत् आपूर्ति नहुँदा मुना, मुदी र लुलाङमा सञ्चार सेवा प्रभावित भएको हो ।

मुनाका बासिन्दा नमिता पुनले यही वैशाख २२ गतेदेखि टावरमा देखिएको समस्या समाधान गर्न ढिलाइ हुँदा स्थानीयलाई सूचना आदानप्रदान गर्न असहज हुनुका साथै गाउँपालिकाको सेवामा पनि असर परेको गुनासो गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले टेलिकमको टावरमा देखिएको समस्याका कारण इन्टरनेट राम्रोसँग नचलेर योजना तथा आपूर्तिकर्ता र सेवाप्रदायकलाई भुक्तानी गर्न, सूचना आदानप्रदान गर्न समस्या भएको बताउनुभयो ।

वैशाख २२ गते परेको चट्याङका कारण मुदीको डाँडामा रहेको टेलिकमको टावरमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो । टावरको वैकल्पिक विद्युत् आपूर्ति गर्ने ‘ब्याकअप’मा पनि चट्याङ्ले क्षति पुर्‍याएको धवलागिरिका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिनुभयो ।

अध्यक्ष पुनले समस्या भएकै दिनदेखि समाधानका लागि नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरिरहेको बताउनुभयो । प्राविधिक टोलीले समस्या पहिचान गर्न ढिलाइ गरेको भन्दै उहाँले थप पहलका लागि सरोकार भएका निकायलाई ताकेता गरिरहेको बताउनुभयो ।

About the author

Srijana Puri

Add comment

नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।