रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारण र प्रकृति पत्ता लगाउन सात सदस्यीय विज्ञ समिति गठन गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा समिति गठन गरेको हो ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार समितिमा जलविद् (हाइड्रोलोजिस्ट) डा नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भुगर्भविद् (जियोलोजिस्ट) डा मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित, विपद् जोखिम न्युनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहेका छन् । समितिले बाढीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ ।

साथै जलवायु, हिमनदी, भूगर्भ, भूरूप विज्ञान, जलविज्ञान तथा नदी प्रणालीबीचको अन्तरसम्बन्धबारे अध्ययन गरिने मन्त्रालयले जनाएको छ । समितिले बाढीका तत्कालीन तथा अन्तर्निहित कारण पहिचान गर्नुका साथै जलवायु परिवर्तनको भूमिका कति थियो भन्ने पनि वैज्ञानिक रूपमा मूल्याङ्कन गर्नेछ। घटनालाई सामान्य बाढी नभई विभिन्न प्राकृतिक जोखिमको श्रृंखलाका रूपमा अध्ययन गरिने जनाइएको छ ।

अध्ययनका क्रममा हिमनदी, पहिरो, चट्टानको अस्थिरता, नदीको बहाव, अवसाद तथा पानी र अवसादको मिश्रित बहावलगायत विषयको अध्ययन गरिनेछ। आवश्यकताअनुसार ड्रोन तथा उपग्रहबाट प्राप्त तस्बिरसमेत प्रयोग गरिनेछ ।

समितिलाई अध्ययन पूरा गर्न दुई महिनाको समय दिइएको छ। अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा भविष्यमा जलविद्युत् तथा अन्य पूर्वाधारलाई यस्ता विपद्बाट जोगाउन पूर्वतयारी र जोखिम न्यूनीकरणका उपाय तय गरिने मन्त्रालयले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।