क्यासिनो, बाढी राहत र विधेयकलगायत विषयमा छलफल गर्न चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं, ३० भदौ । सङ्घीय संसद्अन्तर्गत आज चार वटा विषयगत समितिको बैठक बस्दै छ। मङ्गलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।

बिहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा क्यासिनो व्यवसायीहरूसँग छलफल गर्ने कार्यसूची छ। त्यस्तै, बिहान ८ बजे बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भोटेकोशी नदीको बाढीबाट पुगेको क्षति, उद्धार, राहत तथा पुनर्नर्मार्णबारे शिक्षा तथा खेलकुद मन्त्रालयले गरिरहेका काम र भावी रणनीतिबारे छलफल भइरहेको छ।

यसैगरी, बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ। उक्त बैठकमा ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ को प्रतिवेदनमाथि छलफल हुनेछ भने दिउँसो १ बजे सोही समितिमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ।

उता दिउँसो १:१५ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने समितिको वार्षिक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।