काठमाडौँ । एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई प्रणालीलाई जैविक तथा अन्य घातक हतियार विकासमा सहयोग पुग्ने गरी प्रयोग गर्ने प्रयासहरू पहिचान गरी रोकिएको जनाएको छ ।
कम्पनीको पछिल्लो सुरक्षा प्रतिवेदनअनुसार गत आठ महिनामा एआईको प्रयोग गरी साइबर जासुसी, निगरानी, ठगी, प्रचार अभियान तथा हतियार विकासका प्रयास भएका थिए । एन्थ्रोपिकले जैविक हतियार विकासमा सहयोग पुग्न सक्ने गरी एआई प्रयोग गरिएका पाँच घटना र परम्परागत हतियार विकाससँग सम्बन्धित छवटा घटना पहिचान गरेको जनाएको छ ।
प्रतिवेदनमा रुससँग सम्बन्धित साइबर समूह तथा इरानी प्रचार संस्थाले समेत एन्थ्रोपिकको एआई प्रयोग गरेको उल्लेख छ । कम्पनीले यस्ता गतिविधि रोक्न सुरक्षा प्रणाली थप बलियो बनाउँदै सम्बन्धित अधिकारी तथा प्रविधि क्षेत्रका साझेदारसँग आवश्यक सूचना साझा गरिएको जनाएको छ ।
एन्थ्रोपिकले जैविक हतियारसँग सम्बन्धित एआई दुरुपयोगलाई अत्यन्त गम्भीर जोखिमका रूपमा व्याख्या गर्दै उचित सुरक्षा उपाय नहुँदा यसको परिणाम भयावह हुन सक्ने चेतावनी दिएको छ ।

