काठमाडौँ । अस्ट्रेलियाको चर्चित नवप्रवर्तनशील कम्पनी क्यानभाले आफ्नो व्यवसायमा व्यापक पुनर्संरचना गर्ने घोषणा गरेको छ । यसबाट कम्पनीका २२ प्रतिशत कर्मचारी प्रभावित हुनेछन् । कम्पनीका अनुसार १ हजार २७१ जनाले जागिर गुमाउने, कार्यस्थल परिवर्तन गर्नुपर्ने वा नयाँ जिम्मेवारी लिनुपर्नेछ ।
कम्पनीकी सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मेलानी पर्किन्सले १३ वर्षे इतिहासकै सबैभन्दा कठिन निर्णय भएको बताएकी छन् । कर्मचारीलाई पठाएको सन्देशमा उनले पछिल्लो वर्ष कम्पनीका लागि निकै कठिन भएको र एक दशकमा पहिलोपटक व्यवसायको वृद्धि सुस्ताएको उल्लेख गरेकी छन् ।
पुनर्संरचनाअन्तर्गत केही कर्मचारीको जिम्मेवारी परिवर्तन हुनेछ भने केहीलाई केन्द्रीय कार्यालयमा स्थानान्तरण हुन भनिनेछ । यस क्रममा केही कर्मचारीलाई भने बिदाइ गर्नुपर्ने अवस्था आएको पर्किन्सले बताएकी छन्। कम्पनीले ३७ देशमा कर्मचारी राख्दै आएको छ ।
कम्पनीले अस्ट्रेलियाको सिड्नीलाई आफ्ना थप उत्पादन टोलीको मुख्य केन्द्र बनाउने निर्णय गरेको छ । आगामी वर्षदेखि मिश्रित कार्यप्रणालीमा काम गर्ने कर्मचारीले हप्तामा दुईदेखि तीन दिन कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
कृत्रिम बुद्धिमत्ताको प्रभाव र नयाँ प्रविधि आफ्ना सेवामा समावेश गर्दा बढेको खर्चका कारण क्यानभाको व्यावसायिक मूल्यमा पनि गिरावट आएको बताइएको छ । गत वर्षको अन्त्यमा ६० अर्ब अस्ट्रेलियाली डलर मूल्याङ्कन गरिएको कम्पनीको मूल्य यस वर्ष घटाएर करिब ४९ अर्ब अस्ट्रेलियाली डलरमा झारिएको विभिन्न लगानीकर्तासम्बन्धी विवरणमा उल्लेख छ । कम्पनीले नयाँ उत्पादन विकास तथा कृत्रिम बुद्धिमत्तासम्बन्धी प्रविधि विस्तारमा हुने खर्च बढेपछि आफ्नो आन्तरिक मूल्याङ्कनसमेत घटाएको बताइएको छ ।
पर्किन्सले नयाँ प्रविधिले मानिसले सामग्री सिर्जना गर्ने तरिका र प्रयोगकर्ताले डिजिटल सेवाबाट राख्ने अपेक्षामा ठूलो परिवर्तन ल्याइरहेको बताएकी छन् । उनले १९ वर्षको उमेरमा विश्वविद्यालय छाडेर सन् २०१३ मा क्यानभा स्थापना गरेकी थिइन् । क्यानभाले प्राविधिक सीप वा डिजाइनसम्बन्धी पृष्ठभूमि नभएका प्रयोगकर्तालाई पनि विभिन्न नमुना र उपकरणमार्फत निमन्त्रणा पत्रदेखि व्यावसायिक प्रस्तुतीकरणसम्म तयार गर्न सहयोग गर्दै आएको छ ।

