दाङ । विशेष सूचनाका आधारमा दाङका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा प्रहरीले बेवारिसे अवस्थामा ११ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ मातहतका विभिन्न प्रहरी इकाइबाट खटिएको टोलीले भदौ २५ गते बिहान ६ बजेदेखि १० बजेसम्म गरेको खोजतलासका क्रममा ती बन्दुक बरामद गरेको हो । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१ शिरुखर्कस्थित राष्ट्रिय वनबाट ६ थान, बंगलाचुली गाउँपालिका–८ कएना पानीस्थित सामुदायिक वनबाट २ थान र लमही नगरपालिका–७ स्थित नवशान्ती सामुदायिक वनबाट ३ थान भरुवा बन्दुक बरामद गरिएको थियो ।
बरामद गरिएका सबै बन्दुक जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

