काठमाडौं । नेपाल जेन–जी फ्रन्टले उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा माग गरेको छ । फ्रन्टले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्री यादवलाई पदबाट राजीनामा दिन आग्रह गरेका हो ।
फ्रन्टले पछिल्लो ४–५ महिनाको अनुभवबाट आफूहरूलाई लाचार र छुद्र नभई जिम्मेवार तथा जवाफदेही मन्त्री आवश्यक रहेको निष्कर्षमा पुगेको जनाएको छ ।
‘अब तपाईं राजीनामा दिनुस् मन्त्री गौरीकुमारीज्यू । यो ४–५ महिनामा हामीले मज्जाले बुझ्यौँ– हामीलाई लाचार र छुद्र मन्त्री चाहिँदैन, जिम्मेवार र जवाफदेही सेवक मन्त्री चाहिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
जेन–जी फ्रन्टले सरकारका मन्त्रीहरूले आफ्नै कमजोरी लुकाउन विभिन्न पक्षलाई दोषारोपण गरेको आरोप लगाएको छ । फ्रन्टले कर्मचारी, व्यवसायी, पत्रकार, राष्ट्रियसभा, विपक्षी दल र ३५ वर्षभन्दा माथिका पुस्तादेखि जनतासम्मलाई दोष लगाउने काम मन्त्रीहरूले गरेको दाबी गरेको छ ।
‘कर्मचारी, व्यावसायी, पत्रकार, राष्ट्रियसभा, विपक्षी, ३५ वर्ष, जनता सबैलाई दोष लगाएर सरकारका मन्त्रीहरूले भ्याइसके,’ विज्ञप्तिमा भनिएको छ, ‘अब पनि आफ्नै अक्षमतालाई लुकाउन अझै क–कसलाई दोष दिने हो सरकारका मन्त्रीहरूले ? सरकार गठन भएको महिनौँ बितिसक्दा पनि जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको फ्रन्टको आरोप छ ।

