अर्थमन्त्री डा. वाग्लेको अभिव्यक्तिप्रति प्रदीप ज्ञवालीको आपत्ति

अ

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नयाँ दिल्लीमा दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

उनले उक्त अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान तथा राष्ट्रिय हितमा आँच पुर्‍याउने खालको भएको बताएका छन् । ज्ञवालीले विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो देशको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्नु उचित नहुने बताएका छन् । नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग नरहेको उल्लेख गर्दै उनले नेपालले सधैँ सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित मित्रतापूर्ण सम्बन्ध चाहेको बताएका छन्। कुनै व्यक्ति वा समूहको दृष्टिकोणलाई समग्र राष्ट्रको प्रतिनिधित्व गर्ने धारणा मान्न नसकिने उनको भनाइ छ ।

नेपाल र भारतबीच रहेका विभिन्न समस्याबारे चर्चा गर्दै ज्ञवालीले सीमा विवाद, सन् १९५० को सन्धिका केही प्रावधान, नेपाली उत्पादनलाई भारतीय बजारमा प्रवेश गर्न हुने कठिनाइ, बढ्दो व्यापार घाटा र सीमामा बनाइएका एकतर्फी बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने समस्यालाई उठाएका छन्। नेपालले पाउनुपर्ने वैकल्पिक हवाई प्रवेश मार्गका विषयमा पनि भारतले आनाकानी गरिरहेको उनको आरोप छ ।

छिमेकी मुलुकसँग यस्ता विषयमा खुलस्त छलफल गर्नुपर्ने उल्लेख गर्दै ज्ञवालीले समस्यालाई लुकाएर सम्बन्ध बलियो नहुने बताएका छन् । उनका अनुसार यी विषय उठाउनु कुनै देशको विरोध नभई नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विषय हो। राष्ट्रिय हितको रक्षा गर्नु हरेक सरकारको दायित्व भएको उनले बताएका छन् ।

ज्ञवालीले नेपाल र भारतबीचका समस्याको समाधानका लागि बलियो राष्ट्रिय एकता र सहमतिका आधारमा गम्भीर कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् । यथार्थलाई ढाकछोप गरेर अपनाइने तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमान बलियो नबनाउने भन्दै उनले सम्बन्ध सुधारका लागि समस्याको स्पष्ट पहिचान र समाधान आवश्यक रहेको बताएका छन्।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।