काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा होमिएको छ ।
प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार हालसम्म ४४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले भदौ मसान्तसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
पार्टीका अनुसार आज भदौ २५ गते कालिकोट, भोजपुर, बारा र दोलखामा जिल्ला अधिवेशन हुँदैछ। बाँकी अधिकांश जिल्लाको अधिवेशनको मिति तय भइसकेको र तयारी भइरहेको जनाइएको छ ।
राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने यसअघि नै घोषणा गरिसकेको छ । सोहीअनुसार भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाइएको पार्टीले जनाएको छ ।
पार्टीका अनुसार स्थानीय तह र जिल्लाका अधिवेशनहरू उत्साहजनक रूपमा भइरहेका छन्। हालसम्म ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, इलाम, उदयपुर, झापा, मोरङ, सप्तरी, सिराहा, सर्लाही, पर्सा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, चितवन, लमजुङ, मुस्ताङ, गोरखा, म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपुर, कास्की, नवलपरासी पश्चिम, रोल्पा, गुल्मी, पाल्पा, बर्दिया, कपिलवस्तु, दाङ, रुपन्देही, मुगु, हुम्ला, सल्यान, रुकुम पश्चिम, दैलेख, डोटी र बैतडीमा अधिवेशन सम्पन्न भइसकेको छ ।

