खाजाको पैसा बचाएर बाढीपीडितलाई ८१ हजार १८१ रुपैयाँ सहयोग

मुकेश कुमार यादव/ सिरहा २५ भदौ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारहरूको सहयोगार्थ गोलबजारस्थित हिमालयन पब्लिक स्कुलले ८१ हजार १८१ रुपैयाँ राहत सहयोग गरेको छ। विद्यालयका प्ले ग्रुप (PG) देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजाका लागि छुट्याइएको रकमबाट सहयोग गरेका हुन्। 

विद्यार्थीहरूको अभियानमा शिक्षक तथा कर्मचारीले समेत साथ दिएका छन् भने विद्यालयले पनि थप सहयोग गरेको विद्यालयका कार्यकारी निर्देशक मानबहादुर लामाले जानकारी दिए ।उनले भने, ´विद्यार्थीहरूले आफूले दैनिक खाजाका लागि पाउने रकममध्ये केही हिस्सा विपद्मा परेका परिवारको सहयोगका लागि छुट्याएका हुन्। सानै उमेरदेखि विद्यार्थीमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्यले पनि यो अभियान महत्वपूर्ण छ।´

‘विद्यार्थीको सहयोग रकमभन्दा भावना ठूलो छ’

विद्यालयका प्रधानाध्यापक तथा संस्थापक पुरुषोत्तम बुढाथोकीले विद्यार्थीहरूले आफ्नो खाजाको पैसा बचाएर विपद् प्रभावित परिवारलाई सहयोग गर्नु अत्यन्तै सकारात्मक र प्रेरणादायी कार्य भएको बताए। उनले भने,´हामीले विद्यार्थीलाई किताबको ज्ञान मात्र होइन, समाज र दुःखमा परेका मानिसप्रति जिम्मेवार बन्न पनि सिकाउनुपर्छ। आफ्नै खाजाको पैसा कटाएर विपद् पीडितका लागि सहयोग गर्नु विद्यार्थीहरूको ठूलो मानवीय भावना हो। रकम जति भए पनि त्यसमा जोडिएको भावना र सहयोग गर्ने संस्कार महत्वपूर्ण हुन्छ।´

बाढीपहिरोका कारण परिवारहरू संकटमा परिरहेका बेला पीडितको दुःखमा साथ दिने उद्देश्यले विद्यालय परिवारले संयुक्त रूपमा राहत रकम संकलन गरेको विद्यालयले जनाएको छ।

विद्यालय प्रशासनका अनुसार विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालयको संयुक्त पहलमा संकलित ८१ हजार १८१ रुपैयाँ  राहत सहयोगका रूपमा  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विद्यालयले यस्तो अभियानले विद्यार्थीमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगी भावनाको विकास गराउनुका साथै विपद्का बेला समाजमा एकताको सन्देशसमेत प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।