काठमाडौँ । अमेरिकी सरकारले नेपालका लागि कार्यवाहक राजदूतमा मेगन बोल्डिनलाई पठाएको छ । बोल्डिनले आगामी केही महिना नेपालका लागि रूपमा जिम्मेवारी सम्हाल्ने अमेरिकी दुताबासले जनाएको छ ।
बाढीबाट प्रभावित अमेरिकी नागरिकलाई सहयोग गर्नुका साथै बाढीपछिको प्रतिकार्य र पुनर्लाभका काममा उनले नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गर्ने दूतावासले जनाएको छ ।
बोल्डिन यसअघि सन् २०२४ को अगस्टदेखि बङ्गलादेशस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत थिइन् । वरिष्ठ परराष्ट्र सेवाकी सदस्य बोल्डिनसँग सङ्कट व्यवस्थापन, कूटनीति र नेतृत्वको क्षेत्रमा लामो अनुभव रहेको दूतावासले जनाएको छ ।
उनले युक्रेन, इराक, बङ्गलादेश र वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालयको सञ्चालन केन्द्रलगायत स्थानमा काम गरेकी छन् ।
राहत तथा पुनर्लाभका काम जारी रहेका बेला बोल्डिनको नेपाल आगमनले नेपाल सरकार र साझेदारसँग सहकार्य गर्ने अमेरिकाको निरन्तर प्रतिबद्धता देखाएको दूतावासले जनाएको छ ।

