नेपालबाट गाँजा तस्करी गरेको मुद्दामा ३ जनालाई १० वर्ष जेल, जनही १ लाख जरिबाना 

सञ्जय मिश्रा

रौतहट, २४ भदौ । नेपालबाट भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा भारतको बिहारस्थित पूर्वी चम्पारण मोतीहारी जिल्ला अदालतले तीन जनालाई जनही १० वर्षको सश्रम कारावासको फैसला सुनाएको छ।

मोतीहारीस्थित एनडीपीएस अदालत–२ का विशेष न्यायाधीश बृजेश कुमारको इजलासले हरसिद्धि थाना क्षेत्रको मुंशी बजार निवासी अंकित कुमार, कमलजीत कुमार र रितु कुमारलाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो।

अदालतले तीनै जनालाई विभिन्न धाराअन्तर्गत जनही १ लाख भारतीय रुपैयाँ जरिवानासमेत तोकेको छ। जरिवाना रकम बुझाउन नसकेमा थप ६ महिना कैद सजाय भुक्तान गर्नुपर्ने फैसलामा उल्लेख छ।

कारभित्र लुकाइएको थियो २८ किलो गाँजा

मुद्दा १६ जनवरी २०२५ मा भएको गाँजा बरामदसम्बन्धी घटनासँग जोडिएको हो। नेपालबाट ठूलो परिमाणमा लागुऔषध भारततर्फ ल्याइँदै गरेको सूचना पाएपछि आदापुरको हरपुर थानाका तत्कालीन थानाध्यक्ष किशन कुमार पासवानको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीले हरपुर–बैरिया चिकनीस्थित पेट्रोल पम्पनजिक एउटा हुन्डाई कार रोकेर खानतलासी गर्दा २८ किलो ३०० ग्राम गाँजा बरामद गरेको थियो।
गाँजा बरामद भएपछि प्रहरीले कारमा सवार तीनै जनालाई पक्राउ गरी न्यायिक हिरासतमा पठाएको थियो।

७ जना साक्षी, प्रमाणका आधारमा फैसला

अभियोजन पक्षले एनडीपीएस ऐनअन्तर्गत चलेको उक्त मुद्दामा अदालतसमक्ष सात जना साक्षी प्रस्तुत गरेको थियो। साक्षीको बयान, उपलब्ध प्रमाण तथा दुवै पक्षको बहसपछि अदालतले तीनै जनालाई दोषी ठहर गरेको हो।

नेपालसँग सीमा जोडिएको बिहार क्षेत्रमा गाँजा तथा अन्य लागुऔषधको तस्करी नियन्त्रणका लागि भारतीय अदालतबाट आएको यो फैसला कडा सन्देशका रूपमा हेरिएको छ। नेपाल–भारत सीमामा हुने अवैध लागुऔषध ओसारपसार रोक्न दुवै देशका सुरक्षा निकायबीच थप समन्वय र निगरानी आवश्यक देखिएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।