मुख्यमन्त्री धामीले मंगल आरतीमा सहभागी हुँदै शैलदिदीबाट लिए आशीर्वाद

न्यूज कारखाना

रौतहट २४ भदौ । भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले मंगलबार अखिल विश्व गायत्री परिवारको मुख्यालय शान्तिकुञ्ज पुगेर मंगल आरती तथा यज्ञीय कार्यक्रममा सहभागिता जनाएका छन्।

शान्तिकुञ्ज पुगेका मुख्यमन्त्री धामीलाई देव संस्कृति विश्वविद्यालयका उपाध्यक्ष तथा अखिल विश्व गायत्री परिवारका युवा प्रतिनिधि डा. चिन्मय पण्ड्याले पुष्पगुच्छा प्रदान गरी स्वागत गरेका थिए।

त्यसपछि मुख्यमन्त्री धामीले देव संस्कृति विश्वविद्यालय परिसरमा आयोजित यज्ञीय कार्यक्रममा सहभागी हुँदै भगवान महाकाल र माता गायत्रीसँग उत्तराखण्डको सुख, शान्ति, समृद्धि तथा सर्वाङ्गीण विकासको कामना गर्दै प्रार्थना गरे।

कार्यक्रमका क्रममा मुख्यमन्त्री धामीले शान्तिकुञ्जकी अधिष्ठात्री श्रद्धेय शैलदिदीसँग आत्मीय भेट गरेका थिए। उनले शैलदीदीबाट आशीर्वाद तथा मार्गदर्शनसमेत लिएका छन्।

सो अवसरमा शैलदिदीले युगऋषि पण्डित श्रीराम शर्मा आचार्यद्वारा रचित वाङ्मयलगायतका साहित्यिक सामग्री मुख्यमन्त्री धामीलाई प्रदान गर्दै सम्मान गरेकी थिइन्।

भेटका क्रममा प्रदेश तथा समाजको कल्याण, आध्यात्मिक जागरण र सकारात्मक सामाजिक परिवर्तनका लागि अखिल विश्व गायत्री परिवारले सञ्चालन गरिरहेका विभिन्न अभियानबारे छलफल भएको थियो। समाजमा संस्कार, सेवा, सद्भाव तथा नैतिक मूल्यलाई बलियो बनाउने र युवालाई रचनात्मक दिशातर्फ अग्रसर गराउने अभियानबारे पनि कुराकानी भएको जनाइएको छ।

यज्ञीय वातावरणमा वैदिक मन्त्र उच्चारण भइरहेका बेला मुख्यमन्त्री धामीले लोकमंगल तथा जनकल्याणको कामना गरेका थिए।
सो अवसरमा डा. चिन्मय पण्ड्याले भारतीय संस्कृतिको लोकमंगलकारी परम्पराले व्यक्ति, समाजदेखि राष्ट्रसम्मको कल्याणको भावना बलियो बनाउने बताए। आध्यात्मिक चेतना, सेवा र संस्कारमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा शान्तिकुञ्जका व्यवस्थापक योगेन्द्र गिरि, महिला मण्डलकी अध्यक्ष शैफाली पण्ड्यासहित जिल्ला प्रशासनका विभिन्न अधिकारी तथा अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।