असोज १६ देखि १९ गतेसम्मनै कांग्रेसको १५औँ महाधिवेशन हुने गरि कार्यतालिका हेरफेर

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म हुनेगरी विभिन्न तह र निकायको निर्वाचनको समयतालिका हेरफेर गरिएको छ । महाधिवेशनको मिति यथावत् राख्दै केन्द्रीय निर्वाचन समितिले विभिन्न तहका अधिवेशनको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि देशभर परेको असरलाई ध्यानमा राख्दै विभिन्न जिल्ला र क्षेत्रबाट प्राप्त सुझावअनुसार अधिवेशनको नयाँ कार्यतालिका तय गरिएको कांग्रेसले जनाएको छ । महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्ने वैधानिक दायित्वलाई केन्द्रमा राखेर निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

नयाँ कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ । बाढी प्रभावित क्षेत्रमा स्थानीय अनुकूलताअनुसार हुने गरि ६ हजार ७४३ वटै वडामा अधिवेशन गरी वडा कार्यसमिति निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ । गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते र प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते हुनेछ ।

केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गते काठमाडौँमा सम्पन्न गर्ने कार्यतालिका छ । बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने तोकिएका निर्वाचन अधिकृत र स्थानीय तहसँग समन्वय गरी अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ ।

जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका दोस्रो चरणमा सार्वजनिक गरिनेछ । त्यस्तै, बाँकी रहेका नेपाली जनसम्पर्क समितिका अधिवेशन असोज १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले सबै क्रियाशील सदस्य तथा पार्टीका विभिन्न तह र निकायलाई निर्वाचन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन आग्रह समेत गरेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।