कृष्णभीरमा सडकको ट्रयाक खोल्न रुख कटान शुरु

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोपछि सडकको नयाँ ट्रयाक खोल्न रुख कटानको काम शुरु भएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार सडक खोल्न दुवैतर्फबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटानको काम भइरहेको छ । साथै सडक  खोल्न आवश्यक निर्माण उपकरणसमेत सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जानकारी दिएको छ ।

रुख कटानको काम सम्पन्न हुनासाथ निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउने काम सुरु गरिने जनाइएको छ । सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै सडक खोल्ने काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यसअघि कृष्णभीरको पहाड पट्टि ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्काल अघि बढाउने निर्णय गरेको थियो ।

ट्र्याक खोल्ने कार्यसँगै ‘सेक्रिफिसियल ग्याबियन बक्स’ तथा ‘बोल्डर हिलसाइड’बाट तल खसाल्ने कार्य समेत गर्ने, कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने निर्णय मन्त्रालयले गरेको जनाएको छ ।

साथै, कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने र यी विकल्पहरूको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने तथा आवश्यकताअनुसार सडक विभागसँग समझदारीपत्र (एमओयू) गर्ने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।