चीनले तेस्रो चरणको राहत सामग्री पठाउदै

काठमाडौं । चीन सरकारले नेपालका आवश्यकताअनुसार चीनले तेस्रो चरणको राहत सामग्री पठाउने तयारीसमेत गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले तेस्रो चरणको राहत सामग्री पठाउने तयारी गरेको जानकारी दिएका हुन् । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जियाकुनले तेस्रो चरणमा बेलिब्रिज, शव राख्ने बाकस, रोग नियन्त्रणसम्बन्धी सामग्री र आपत्कालीन सञ्चार उपकरणलगायत सामग्री पठाइने बताएका छन् । साथै डिएनए पहिचान विज्ञको अर्को टोलीसमेत नेपाल पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

यसअघि चीनले नेपाललाई उपलब्ध गराएको दोस्रो चरणको आपत्कालीन राहत सामग्री मंगलबार दिउँसो काठमाडौं आइपुगेको थियो । जसमा बेपत्ता नागरिकको पहिचानमा सहयोग गर्न पाँच जना डिएनए पहिचान विज्ञसमेत नेपाल आएका छन् ।

चीनले विपद्मा बेपत्ता विदेशी नागरिकको खोजी तथा अन्य विषयमा सम्बन्धित देशका दूतावाससँग निरन्तर समन्वय गरिरहेको जनाएको छ । प्रभावित क्षेत्रमा अलपत्र परेका सीमावर्ती बासिन्दा तथा विदेशी नागरिकलाई स्थल र हवाई मार्गबाट व्यवस्थित रूपमा सुरक्षित स्थानतर्फ पठाउने काम भइरहेको छ ।

नेपालस्थित चिनियाँ दूतावासले आवश्यकतामा रहेका चिनियाँ नागरिकलाई निरन्तर सहयोग उपलब्ध गराउने जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।