रसुवा बाढी : ५९० विदेशीसहित झन्डै चार हजार बेपत्ता, उद्धारमा अन्तर्राष्ट्रिय टोली परिचालन

काठमाडौं, १८ भदौ । रसुवामा आएको बाढीमा ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको समन्वयमा भारत, चीन, दक्षिण कोरिया र अमेरिकाका विशेषज्ञ टोली फिल्डमा खटिएका छन्।

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका साथै शव पहिचान र डीएनए परीक्षणमा भारत तथा सिङ्गापुरका फोरेन्सिक टोलीले सहयोग गरिरहेका छन्। मन्त्रालयका अनुसार हालसम्म तीन सयभन्दा बढी विदेशीसहित ११ हजार ९९३ जनाको उद्धार गरिएको छ भने एक हजार ११४ जनाको शव फेला परेको छ। अझै करिब तीन हजार ९०० जना बेपत्ता छन्।

यसैबीच, सीमा क्षेत्रमा अड्किएका मानसमरोवर-कैलाश यात्रुमध्ये करिब दुई हजार ५०० जना नेपाल फर्किसकेका छन्। केरुङमा रहेका नेपाली र कन्टेनर सुरक्षित ल्याउन चिनियाँ पक्षसँग समन्वय भइरहेको छ। सरकारले उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग बेलिब्रिज, फ्रिजर, डीएनए किट तथा ड्रोन उपलब्ध गराउन आग्रह गरेको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।