जलविद्युत आयोजनाका सुरुङमा उद्धार बारे विद्युत प्राधिकरणले के भन्यो ?

काठमाडौं । जटिल भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद नेपाल विद्युत् प्राधिकरणले बाढी तथा पहिरोमा परेका आफ्ना कर्मचारी र कामदारको खोज तथा उद्धार कार्यलाई चौबीसै घण्टा निरन्तरता दिएको जनाएको छ ।

प्राधिकरणका अनुसार त्रिशूली नदीमा ढुंगा, बालुवा र माटो थुप्रिएर पानीको सतह बढेका कारण विद्युत् आयोजनाका संरचना पुरिएका छन्। पावर हाउससम्म पुग्ने बाटो निर्माणका क्रममा ठूला ढुंगा भेटिएपछि विस्फोट गराएर हटाउने काम भइरहेको छ ।

त्यस्तै, पावर हाउस प्रवेश गर्ने सुरुङको मुख खोलाको सतहभन्दा तल रहेकाले सुरुङ र प्रवेशमार्गमा जम्मा भएको पानी पम्पमार्फत बाहिर निकाल्ने काम जारी रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विभिन्न जलविद्युत् केन्द्र, वितरण केन्द्र, ग्रिड उपकेन्द्र तथा प्रसारण लाइन आयोजनामा कार्यरत ४९ जना कर्मचारी तथा कामदारसँग सम्पर्क स्थापित हुन सकेको छैन । उनीहरूको खोज तथा उद्धारका लागि प्राधिकरणले उपलब्ध सबै स्रोतसाधन अधिकतम रूपमा परिचालन गरेको जनाएको छ ।

सम्पर्कविहीन हुनेमा देवीघाट जलविद्युत् केन्द्रका एक सुरक्षागार्ड, त्रिशूली जलविद्युत् केन्द्रका एक कर्मचारी र दुई सुरक्षागार्ड, माथिल्लो त्रिशूली–३ ए जलविद्युत् केन्द्रका ४२ कर्मचारी तथा कामदार, रसुवा वितरण केन्द्रका एक कामदार, त्रिशूली–३ बी हब २२० केभी उपकेन्द्रका एक सुरक्षागार्ड र चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाका एक कर्मचारी रहेका छन् ।

प्रतिकूल मौसम, कठिन भौगोलिक अवस्था तथा आवश्यक उपकरण हवाई माध्यमबाट लैजानुपर्ने चुनौतीका बीच पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।