शंकर पोखरेलको प्रश्न- ‘ग्रीन आर्मी’ को वैधता र पृष्ठभूमि के हो ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ नामक संस्थाको वैधता, पृष्ठभूमि र सञ्चालनको स्रोतबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

पोखरेलले विद्यालय–विद्यालयमा शाखा तथा ५२ जिल्लामा सञ्जाल रहेको दाबी गरिएको उक्त संस्था कस्तो संगठन हो भन्ने प्रश्न गरेका छन् । उनले संस्थाको सञ्चालनका लागि आम्दानीको स्रोत के हो भन्ने विषयमा समेत स्पष्टता आवश्यक रहेको बताएका छन् ।

उनले भने- ‘नेपाली सेनाले विद्यालयहरूमा राष्ट्रिय सेवा दल (एनसीसी) गठन गर्ने त सबैलाई थाहा थियो, तर सेवा दलको सट्टा ‘ग्रीन आर्मी’ बनाउन थालिएको हो ? यदि होइन भने, सेना जस्तै देखिने यस प्रकृतिको संगठन खोल्न र संगठित हुन दिनु कत्तिको उचित हो ? सरकारले यस विषयमा स्पष्ट पार्नुपर्छ ।’

नेपाली सेनाले तालिम दिएको दाबीसहित संस्थासँग सम्बन्धित तस्बिरहरू सार्वजनिक भएको उल्लेख गर्दै पोखरेलले नेपाली सेनाले विद्यालयमा राष्ट्रिय सेवा दल गठन गर्दै आएको अवस्थामा त्यसको सट्टा ‘ग्रीन आर्मी’ गठन गर्न थालिएको हो कि होइन भन्ने प्रश्न गरेका छन् ।

यदि त्यस्तो नभए सेना जस्तै देखिने पोसाक र संरचना भएको संगठन खोल्न तथा विस्तार गर्न दिनु कत्तिको उचित हो भन्ने विषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

विपद् उद्धारका लागि गठन गरिएको भनिएको संस्था ठूलो विपद्का बेला कहाँ थियो भन्ने प्रश्न गर्दै पोखरेलले जोखिम कम भएपछि एक सातापछि अचानक मैदानमा देखिनुले थप शंका उत्पन्न गरेको बताएका छन् ।

उनले यस्ता गतिविधिले पीडितलाई राहत दिनुभन्दा समाजमा सन्देह र त्रास बढाउन सक्ने भन्दै सम्बन्धित निकायले यस विषयमा तत्काल ध्यान दिनुपर्ने बताएका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।