भोटेकोशी बाढी: उद्धार र राहतकालागि दुई हेलिकप्टर परिचालन, प्रधानमन्त्रीले बोलाए बैठक

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान बाढी आएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ ।

बाढीबाट प्रभावित तथा जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सरकारले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। बाढीबाट थप प्रभावित हुनसक्ने क्षेत्रका नागरिकलाई पनि सुरक्षित स्थानमा जान निरन्तर सूचना प्रवाह भइरहेको सरकारले जनाएको छ ।

बाढीका कारण जोखिम बढेपछि सरकारले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन आग्रह गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले निर्देशन दिएलगत्तै सम्बन्धित निकायले आफ्ना संयन्त्र परिचालन गरी बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्रता दिएका छन्। जिल्लास्थित विपद् व्यवस्थापन संयन्त्रलाई सक्रिय बनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र जिल्ला प्रशासन कार्यालयले प्रभावितको उद्धार तथा बेपत्ताको खोजीलाई तीव्र बनाएका छन्। नेपाली सेनाले पनि उद्धार तथा खोजी कार्य अघि बढाएको छ ।

प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि चिकित्सकीय टोलीसहित नेपाली सेनाका दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ। निजी क्षेत्रका हेलिकप्टरलाई समेत उद्धार तथा खोजीका लागि तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ ।

यसैबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ । 

बाढीबाट उत्पन्न अवस्थाबारे थप छलफल तथा आवश्यक निर्णय गर्न प्रधानमन्त्री शाहले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक पनि बोलाएका छन्।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।