काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण अवस्था गम्भीर र चिन्ताजनक बनेको बताएका छन् ।
थापाले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सुरक्षित रहन नागरिकलाई आग्रह गरेका छन् ।
उनले विपद्को अवस्थामा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग समन्वय गर्दै उद्धार तथा राहतमा केन्द्रित हुन सरकारसँग अनुरोध गरेका छन् । विपद् व्यवस्थापनका लागि सरकारले अघि बढाउने सबै प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने थापाले बताएका छन् ।
उनले नेपाली कांग्रेसका सम्पूर्ण समिति, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका नेतृत्व तथा सदस्यलाई तटीय क्षेत्रमा बसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न तथा उद्धार र राहत कार्यमा तत्काल जुट्न अपिल गरेका छन् ।
थापाले विपद्को समयमा नागरिकको ज्यान जोगाउने कार्यलाई प्राथमिकतामा राख्दै स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक सहयोग गर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

