विद्युतीय सवारी र हरित ऊर्जालाई प्राथमिकता दिनुपर्छ- उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको सवारीसाधन क्षेत्रलाई आधुनिक प्रविधि, हरित ऊर्जा र आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउनुपर्ने बताएका छन्।

मंगलबार ‘नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल’ले आयोजना गरेको १८औँ नाडा अटो शो २०२६ को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले नेपालमै सवारीसाधन उत्पादन गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका हुन् ।

नाडा स्थापनाको स्वर्ण जयन्तीसमेत रहेकाले यस वर्षको प्रदर्शनीलाई व्यापारिक मेलामा मात्र सीमित नराखी नेपालको आधुनिकता र आर्थिक रूपान्तरणको मार्गचित्र बनाउने अवसरका रूपमा अघि बढाउनुपर्ने उनले बताएका छन् ।

अटोमोबाइल क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यादवले नवप्रवर्तन र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए। उनले नेपालमा उत्पादन हुने जलविद्युत्लाई विद्युतीय सवारीसाधनसँग जोडेर इन्धन आयातमा हुने निर्भरता घटाउन सकिने बताएका छन् ।

विद्युतीय सवारीसाधनले कार्बन उत्सर्जन घटाउनुका साथै सहरी वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनका असर न्यूनीकरणमा सहयोग पुर्‍याउने उनको भनाइ छ । संविधानले सुनिश्चित गरेको समावेशी लोकतन्त्र र समान अवसरको अवधारणाअनुसार अटोमोबाइल क्षेत्रको लाभ समाजका सबै वर्गसम्म पुग्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

उद्योग, व्यवसाय, सरकार र नागरिक समाजको संयुक्त प्रयासबाट मात्रै नेपाललाई समृद्ध र विकसित बनाउन सकिने बताउँदै उपराष्ट्रपति यादवले नाडाको स्वर्ण जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।