उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

सोमबार बिहान करिब ९: ४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा बेलका नगरपालिका–५ मैनीकी ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी अर्की महिलाको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा अटो चालक २८ वर्षीय इन्द्र थापा मगर, १८ वर्षीय रोशन मगर र विराटनगरका १९ वर्षीय अजित गुरुङ रहेका छन्। इन्द्र र रोशनको अवस्था गम्भीर रहेको छ भने अजितको अवस्था मध्यम रहेको छ ।

दुर्घटनापछि प्रहरीले घाइतेलाई उद्धार गरी स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरान पठाएको थियो । अटो प्रहरीको नियन्त्रणमा रहेको छ भने बस र चालक विक्रम थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।