एसके कर्ण
जनकपुरधाम, ८ भदाैं मधेशको बारा जिल्लाको जीतपुर सिमराकी बालिका गरिमा चौधरीको घटना सेलाउन नपाउँदै भदौ ७ गते आइतबार सप्तरीमा एक तीन वर्षीया बालिका मृत फेला परेकी छिन्।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा तीन वर्षीया सानिया खातुन आइतबार मृत फेला परेकी हुन्। स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया बिहान करिब ९ बजेपछि घरबाट एकाएक बेपत्ता भएकी थिइन्।
सानिया बेपत्ता भएको जानकारी परिवारको सदस्यले दिएपछि उनको खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा शव फेला परेको हो। घटना बारे प्रहरी अनुसन्धान शुरु गरिरहेका छन्। केही शंकास्पद व्यक्तिलाई पक्राउ समेत गरिएको छ। अनुसन्धान र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको कारण अवस्था बारे केही भन्न सकिने सप्तरी प्रहरीको भनाई छ।
…
गत आइतवारदेखि हराई रहेकी जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेस्थित सुकुमवासी बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको शव तीन दिनपछि नजिकै एक सुनसान ठाउँबाट भेटिएको थियो। अनुसन्धानको क्रममा खोजबीनमा सँगै रहेका दुईजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ।
गरिमा चौधरीको घटनालाई लिएर मधेश प्रदेशका ८ वटै जिल्लासहित संघीय राजधानी काठमाडौसहित देशका विभिन्न स्थान आन्दोलनले ताँतिएको छ। घटनामा लापरवाही गरेको भनी प्रहरीका अधिकारीहरुलाई कारवाही स्वरुप प्रधान कार्यालयमा तानिसकिएको छ।
अवस्था तनावग्रस्त गर्दै बन्दै गएपछि शनिवार राति गृहमन्त्री सुदन गुरुङसहितका ५ जनामन्त्रीको उपस्थितिमा गरिमा चौधरीको आमा बुवासँग तीन बुँदे सहमति गरी आन्दोलन स्थगित गरिएको छ।
…
बालिका बलात्कारका यी घटना प्रतिनिधिमूलक घटना मात्र हुन। मधेश प्रदेशमा बालिका बलात्कार घटनाको डरलाग्दो अवस्था छ। महिलाभन्दा बढी बालिका बलात्कार र यौनजन्य दुव्र्यवहारको शिकार भएकी छिन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तकको तथ्यांक अनुसार वर्ष सन् २०२३ देखि सन् २०२५ सम्म ३३१ कुल ६३० बलात्कारको घटनामा बलिकाको मात्रै ३३१ र महिलाको २९९ घटना रहेको छ।
इन्सेकको विवरण अनुसार सबन्दा बढी बालिका बलात्कारको घटना सन् २०२४ मा र महिलाको सन् २०२५ मा १२३ वटा भएको हो। बालिकातर्फ सन् २०२५ मा १०१ र सन् २०२३ मा एक सयवटा बलात्कार घटना भएको हो। महिलातर्फ वार्षिक विवरण अनुसार सन् २०२४ मा ९७ र सन् २०२३ मा ७९ वटा घटना भएको इन्सेकले जारी गरेको मावनअधिकार वर्षमा उल्लेख छ।
गत तीन वर्षको तथ्यांक हेर्ने हो भने मधेशका जिल्ला मध्ये सबभन्दा बढी बालिका बलात्कार घटना सर्लाहीमा ६७ वटा घटना भएको हो। अन्य जिल्लाहरुमा सप्तरीमा ५५, सिरहामा ५३, धनुषामा २७, महोत्तरीमा २६, रौतहटमा २८, बारामा ३५ र पर्सामा ४० वटा भएको हो।
यसरी महिलातर्फ सबभन्दा बढी धनुषा जिल्लामा ९७ वटा बलात्कार घटना भएको हो। अन्य जिल्लातर्फ सप्तरीमा २९ वटा घटना भएको जसमध्ये सन् २०२५ मा एउटा पनि घटना दर्ज भएको छैन। सिरहामा ४३, महोत्तरीमा २५, सर्लाहीमा २४, रौतहटमा ३२, बारामा २२ र पर्सामा २७ वटान बलात्कार घटना रहेको इन्सेकको तथ्यांकमा उल्लेख छ।
किन बढदैछ बलात्कार घटना ?
उमेर नपुगेका खासगरी किशोरावास्थाको बालिका बढी बलात्कारको शिकार भइरहेको सरोकारवाला विज्ञहरुको भनाई छ। बालिका बलात्कार घटना बढनुको प्रमुख कारण सामाजिक सञ्जाल रहेका, नौतिकताको कमी, यौन शिक्षा र अभिभावकमा सचेतनाको आभावले बढेको सरोकारवालाहरुको भनाई छ।
बलात्कार घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार तथ्यांकगत रुपमा हेर्दा सबभन्दा बढी १२/१३ वर्षदेखि १० वर्ष मुनिका बालिका बलात्कार घटनाको शिकार रहेकी छिन्। जसको प्रमुख कारण हो सामाजिक सञ्जाल। सामाजिक सञ्जालमा विभिन्न उत्तेक दृश्य हेर्ने, साथी बनाउने र शारिरीक सम्पर्कमा संलग्न हुने गरेका छन्। अभिभावकको दबावपछि बलात्कार मुद्दा दर्ता।
लागू औषध र मदिरा सेवन पनि उतिकै कारण रहेको प्रहरी अधिकारीहरुको भनाई छ। उनीहरु भन्छन् लागू औषध र मदिरा सेवनपछि यौनिकता तृष्णा मेटन सहज ढंगबाट नपाइएपछि बलात्कार जस्ता जघन्य घटनामा लाग्ने गरेका छन्। यस्ता व्यक्तिहरु छिमेकका बाल्यवास्था (कम उमेर) का बालिका टार्गेट गर्ने गरेका छन्।
अभिभावकहरु सचेत नरहेको कारण पनि कम उमेर समूहका बालिकाहरु बलात्कारका शिकार भइरहेको उनीहरुको भनाई छ। आफ्नो बालबालिका कता जान्छन, के गर्छन लगायतका कुरामा अभिभावकहरु सचेत नभएको कारणले पनि बालिका बलात्कार घटना बढेको हो।
यस्तै मानवअधिकारकर्मी एवं अधिवक्ता रेखा झाले सामाजिक सञ्जालको बढी प्रयोग र दुरुपयोग, नौतिक शिक्षा र यौन शिक्षाको आभाव तथा अभिभावकमा अभिभावकत्वको कमीले बालिका बलात्कार घटना बढिरहेको बताउँछिन्।
उनले भनिन् ‘सामाजिक सञ्जाल अहिले निकै छाडा भइसकेको छ। पैसा कमाउने होडमा सामाजिक सञ्जालको विभिन्न प्लेटफार्ममा राखिएका कामुकता उत्तेजक दृश्यमा नियन्त्रण आवश्यक छ। यसले सामाजका बालबालिकामा निकै नाकारात्मक पारेर बलात्कार जस्ता घटनाको अवस्था पुरयाउँछ।
सामाज र परिवार के हो भन्ने नैतिकता हराउंदै गएको छ। यसका लागि नौतिक शिक्षा र गुड टच तथा बैड टच, उमेर समूहमा नपुगेपछि गरिएको शारिरीक सम्पर्कले पार्ने असर बारे बालबालिकामा शिक्षा दिन आवश्यक छ। सबभन्दा महत्वपूर्ण अभिभावकमा अहिले अभिभावकत्व हराउँदै गएको छ। बढदै गएको आधुनिकताले अभिभावकहरु नै बालबालिका सामु नै सामाजिक सञ्जालमा नाचगान सहितको उत्तेजक दृश्य बनाउने क्रियाकलापले बालबालिकामा नाकारात्मक असर पार्ने गरेको छ।
अभिभावकहरु आफ्ना बालबालिकाप्रति गम्भीर छैनन्। जागिरमा रहेका आमा कम उमेरका बालबालिकालाई छाडेर डियुटीमा जादाँ त्यसका बालबालिकाको हेरचाह र पालनपोषणमा हुने लापरवाहीले पनि यस्ता घटनालाई निम्त्याउने गरिएको छ। उमेर समूहको अनुसार पिडीतको अवस्था हेरेर मृत्युदण्डसम्मको कडा कानूनको व्यवस्था आवश्यक छ। कडा कानून आएको अवस्थामा कम उमेर बालिकाहरु बलात्कार र बलात्कारपछि हत्या जस्ता घटनामा कमी आउने उनको भनाई छ ।
इन्सकेका मधेश प्रदेश प्रतिनिधि एवं मानवअधिकारकर्मी राजु पासवानले विभिन्न सामाजिक सञ्जालको दुरुपयोग, प्रलोभनमा पर्नु, बालबालिका सम्बन्धी अन्तराष्ट्रिय कानूनको अवलम्बन नगर्नु र सामाजिक प्रतिष्ठाको कारणले बालिका बलात्कारको घटना तथ्यांकगत रुपमा बढी देखिएको बताउँछन्।
उनी भन्छन् ‘सिकाईको उमेर समूह किशोरावास्थामा बालबालिकाहरु विभिन्न प्रलोभनमा पर्नु र सामाजिक सञ्जालमा उत्तेजक दृश्यहरुको बढी प्रयोगले कामुकतातर्फ केन्द्रित गरेका कारण बलातकार जस्ता घटना हुने गरेको विभिन्न मुद्दामा देखिएको छ। यसमा नियन्त्रण र कानूनी व्यवस्थाको आवश्यकता छ।’
पासवानले थप्दै भने ‘यी बाहेक उमेर नपुगेका बालबालिका सहमतिमा पनि शारिरीक सम्पर्क गरेमा नेपालमा बलात्कार मान्ने कानूनले गर्दा पनि तथ्यांक रुपमा घटना बढेको हो। यसका लागि विभिन्न अन्तराष्ट्रिय कानूनमा गरिएको सहमति शारिरीक सम्बन्धी व्यवस्था कार्यान्वयन गरेको अवस्था संख्यात्मक रुपमा घटना घट्छ।’
सबभन्दा गम्भीर कुरा स्कूले उमेरमा बालबालिकाहरु सहमतिमा शारिरीक सम्पर्क गर्छन र अभिभावकले थाहा पाएपछि अपहरण, बलात्कार जस्ता मुद्दा लगाउने गरेको कारण पनि बलात्कारको घटना संख्यात्मक बढेको हो। यस्ता मुद्दामा उमेर समूह अनुसारको कानून आवश्यक रहेको उनको भनाई छ।

