काठमाडौँमा होस्टल संचालन गर्न २१ मापदण्ड तोकियो, पुरा गर्न एक महिनाको समय

काठमाडौँ । काठमाडौँ जिल्लाभित्र निजी रूपमा सञ्चालन भइरहेका छात्रावास( होस्टल) मा विद्यार्थीमाथि दुर्व्यवहार, बढी शुल्क असुली, कमजोर पूर्वाधार तथा सरसफाइ र खानपानमा लापरवाही भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सञ्चालकलाई एक महिनाभित्र आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

कार्यालयका अनुसार छात्रावासमा विद्यार्थीलाई मानवीय व्यवहार नगर्ने, यातना दिने, तोकिएको शुल्कभन्दा बढी रकम लिने, कमजोर पूर्वाधार राख्ने तथा सरसफाइमा ध्यान नदिने गुनासो बारम्बार प्राप्त हुँदै आएको छ । खाना र पानीको स्वच्छता, पुरुष तथा महिलाका लागि छुट्टाछुट्टै सुरक्षा, शौचालय, स्नानघर र सुत्ने कोठाको पर्याप्त व्यवस्था नभएको पनि पाइएको कार्यालयले जनाएको छ । त्यस्तै, केही छात्रावासमा लागुऔषधको दुरुपयोग हुने, विद्यार्थीबीच झडप हुँदा ज्यान जानेसम्मका घटना हुने तथा अध्ययन कक्ष, मनोरञ्जन कक्ष र पुस्तकालयजस्ता आवश्यक सुविधा पर्याप्त नभएको गुनासो आउने गरेको छ ।  यस्ता गुनासोका आधारमा कार्यालयले निजी छात्रावासको नियमित तथा आकस्मिक अनुगमन गर्दै आएको जनाएको छ। अनुगमनका क्रममा केही छात्रावासलाई तीन लाख रुपैयाँसम्म जरिवाना गर्नुका साथै शिलबन्दीसमेत गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले जिल्लाभित्र सञ्चालनमा रहेका सबै निजी छात्रावास सञ्चालकलाई तोकिएका २१ मापदण्डअनुसार आवश्यक व्यवस्था एक महिनाभित्र पूरा गर्न सूचित गरेको छ ।

प्रशासनले तोकेका २१ मापदण्ड: 

१- छात्रावास सञ्चालन सम्बन्धमा नेपाल सरकार एवं सम्बन्धित स्थानीय तहले जारी गरेका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्नुपर्ने ।

२- छात्रावासमा बस्ने विद्यार्थी एवं व्यक्तिहरुलाई मानवीय व्यवहार गर्ने, सुरक्षा एवं मर्यादापूर्ण रुपमा रहने वातावरण तयार गर्ने ।

३- छात्रावास भित्रको आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउने कुनै प्रकारको लागु औषध एवं मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा बन्देज लगाउनुपर्ने ।

४- तोकिएको निकायहरुमा छात्रावास अनिवार्य रुपमा दर्ता एवं नवीकरण गर्नुपर्ने ।

५- छात्रावासको लागि उचित भौतिक पूर्वाधार (जस्तैः प्रत्येक कोठाहरु फराकिलो खुला पर्याप्त प्रकाश तथा हावा छिर्ने प्रकृतिको) हुनुपर्ने ।

६- व्यवस्थित पुस्तकालय एवं अध्ययन कक्षको प्रबन्ध गर्नुपर्ने ।

७- छात्रावासको सरसफाइ र खाद्यान्नको गुणस्तर कायम गर्नुपर्ने ।

८- छात्रावासमा स्वच्छ पिउने एवम् अन्य प्रयोजनको पानीको पर्याप्तता, विद्युत तथा ईन्टरनेटको उपलब्धता एवम् बैकल्पिक व्यवस्था समेत गरेको हुनुपर्ने ।

९- छात्रावासमा लाग्ने शुल्क तथा दररेट सार्वजनिक गरी सोही अनुसार मात्र रकम लिनुपर्ने ।

१०- कोठा र शौचालय जस्ता संवेदनशील स्थान बाहेक अन्य स्थानको निगरानीको लागि CCTV जडान गर्नुपर्ने ।

११- छात्रावास सञ्चालक तथा छात्रावासमा बस्ने विद्यार्थी एवं व्यक्तिहरुको अद्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने ।

१२- छात्रावासमा बस्ने विद्यार्थी एवम् अन्य व्यक्तिहरुले समेत मर्यादित र अनुशाससित व्यवहार गर्नुपर्ने ।

१३- छात्रावास रहेको स्थान वरपरका छरछिमेकीहरुलाई छात्रावासको कारणबाट कुनै प्रकारको वाधा, व्यवधान एवम् होहल्ला गर्न नदिने व्यवस्था मिलाउनुपर्ने ।

१४- छात्रावासमा चौविसै घण्टा जिम्मेवार वार्डेन र निजी सुरक्षाकर्मीको व्यवस्था हुनुपर्ने ।

१५- छात्रावासमा बस्ने विद्यार्थी र सञ्चालकको बीचमा अनिवार्य सम्झौता हुनुपर्ने ।

१६- अन्य व्यक्तिको घर भाडामा लिई सञ्चालन गरेको भएमा छात्रावास सञ्चालकहरुले घरधनीसँग अनिवार्य रुपमा घरभाडा सम्झौता गरेको हुनुपर्ने ।

१७- छात्रावासको सञ्चालक र वार्डेनको व्यक्तिगत विवरण अनिवार्य रुपमा यस कार्यालय र नजिकको प्रहरी ईकाईलाई उपलब्ध गराउनुपर्ने ।

१८- छात्रावासमा Fire Extinguisher, First Aid लगायतका अत्यावश्यकीय सामग्रीहरु अनिवार्य रुपमा राखुपर्ने ।

१९- महिला तथा पुरुष दुवैको लागि सञ्चालनमा रहेको छात्रावास भए अलग्गै कार्यालय र आवास भवनको व्यवस्था अनिवार्य गर्नुपर्ने ।

२०- छात्रावासमा आपत्कालिन अवस्थामा सम्पर्क गर्नुपर्ने सरकारी निकायका फोन नं. हरु सबैले देखिने गरी राखेको हुनुपर्ने ।

२१- छात्रावासमा रहने विद्यार्थी एवम् अन्य व्यक्तिहरुलाई समय समयमा मनोरञ्जन एवम् छात्रावासको मर्यादा र अनुशासन कायम राख्न तद् अनुरुपको प्रशिक्षण कक्ष हुनुपर्ने र सो बमोजिम हप्तामा कम्तिमा एकपटक प्रशिक्षण समेत गर्ने/गराउने ।  

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।