लिच्छविकालीन नित्यनाथ मन्दिरको पुनःनिर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँको ग्वलः दे नवाली टोलमा लिच्छविकालीन ‘नासः द्यः छेँ’ अर्थात् नित्यनाथ मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एक समारोहबीच मन्दिरको उद्घाटन गरेकी छन् ।

करिब २ करोड २७ लाख रुपैयाँ लागतमा पुनःनिर्माण गरिएको तीनतले मन्दिरको पहिलो तलामा सन्ध्या पुस्तकालय सञ्चालन हुनेछ भने दोस्रो तला सामाजिक कार्य तथा परम्परागत बाजागाजा प्रशिक्षणका लागि प्रयोग गरिनेछ। तेस्रो तलामा नित्यनाथको मन्दिर रहनेछ ।

कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले मौलिक तथा सांस्कृतिक सम्पदा संरक्षणलाई प्राथमिकता दिएको बताउँदै पुनःनिर्माण भएका सम्पदाको संरक्षणको जिम्मेवारी समुदायले लिनुपर्ने बताइन् ।

वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले स्थानीयको सहयोग र प्रत्यक्ष निगरानीमा मन्दिर पुनःनिर्माण गरिएकाले यसको मौलिकता कायम गरिएको बताए । मन्दिर पुनःनिर्माणसँगै स्थानीय परम्परागत बाजागाजा प्रशिक्षणमा सहभागीलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

२०८१ माघ ८ गते विहीबार मन्दिर पुनःनिर्माणको जग पूजा गरिएको थियो । ०८२ माघ १ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । यसै बिच २०८२ मंसिर ५ गते नित्यनाथको निराकार प्रस्तर मूर्ति पुनःस्थापना गरियो । यसअघि मूर्तिको सट्टा प्रति आकृति मात्र पूजा गर्ने गरिएको थियो । त्यस प्रतिआकृति भित्र पारेर अहिले आसनमाथि करिब ३ फिट अग्लो निराकार प्रस्तर मूर्तिलाई पूजाआजा गरी आसनमा पुनःस्थापना गरिएको छ । नित्यनाथको पूजाआजा र आराधनाका लागि विहीबार विशेष दिन मानिन्छ । ९० सालको भूकम्प अघि नै जीर्ण अवस्थामा रहेको मन्दिर २०३९ सालमा तत्कालीन वडाध्यक्ष स्व. सुवर्ण वैद्यका पालामा ढलान गरेर पुनःनिर्माण गरिएको थियो । त्यसमा तला थप गरेर तल्लो तलामा सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो । माथिल्लो तलामा पूजाआजा र परम्परागत बाजागाजा सिकाउने गरिन्थ्यो । 

नेवार समुदायमा परम्परागत बाजा, गायन तथा नृत्य विधाको शिक्षा आरम्भ गर्नुअघि नित्यनाथ (नासः द्यः) को पूजा गर्ने प्रचलन रहिआएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।