चितवन, २७ वैशाखः जिल्ला वन कार्यालय चितवन कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको छ । लामो समयदेखि नवीकरण नभएका कबुलियती वनको हकमा दाता जुटाएर नवीकरण गर्दै संरक्षण र प्रवर्द्धन सुरु गरिएको हो ।
जिल्ला वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार जिल्लामा ४३३ कबुलियती वन छन् । यस वर्ष दुई वटा थपिएका छन् भने तीन वटा थपिने क्रममा छन् । तीमध्ये १८ वटाले मात्रै नवीकरण गरेका छन् । नवीकरण गर्न नआएका वनको हकमा अभियान सञ्चालन गरिएको हो ।
कार्यालय स्वयंले ५० वटा र रेड कार्यान्वयन केन्द्रले २०० वटा नवीकरणमा सहयोग गर्दैछ । एउटा कबुलियती वन नवीकरणका लागि वार्षिक रु १० हजार राजस्व तिर्नुपर्ने हुन्छ । दुई सय ५० वटा कबुलियती वन नवीकरण प्रक्रियामा छन् भने बाँकी पनि नवीकरणका लागि पहल भईरहेको छ ।
उहाँका अनुसार कतिपय कबुलियती वन लामो समयदेखि नवीकरण हुन सकेका छैनन् । अभियानअन्तर्गत पहिलो पटक जिल्ला वन कार्यालयले कबुलियती वनको काठ बिक्री समेत गरेको छ । ती वनका ढलापढा र सुखडखडा रुखहरु कटान सहमति दिएर बिक्री समेत गरेको छ ।
तीन वटा वनबाट दुई हजार ५६६ क्युविक फिट काठ र चार चट्टा दाउरा बिक्री गरिसकिएको छ । थप दुई कबुलियती वनबाट एक हजार ३२.६९ क्युविकफिट काठ र एक चट्टा दाउरा लिलाम प्रक्रियामा छ । त्यहाँबाट प्राप्त आम्दानीमध्ये ५० प्रतिशत राजश्व र ५० प्रतिशत वकुलियती वनको खातामा जाने गर्दछ ।
थप ३० देखि ५० कबुलियती वनबाट काठ दाउरा बिक्री गर्ने योजना छ । प्रमुख आचार्यका अनुसार कबुलियती वनबाट १५ हजार क्युफिट काठ उत्पादन गर्ने लक्ष्य छ । निष्क्रिय कबुलियती वनहरुलाई सक्रिय बनाउने योजना कार्यालयले लिएको छ ।
एउटा कबुलियती वनमा पाँचदेखि १५ घरपरिवार सदस्य हुने गर्दछन् । घर नजिकैको कम रुख भएका क्षेत्रलाई स्थानीयलाई वनको रुपमा विकास गर्न दिने गरिन्छ । कमजोर आर्थिक अवस्था भएका र विशेषगरी जनजाति बाहुल्य भएको स्थानमा यसरी कबुलियती वन दिने गरिएको छ । स्थानीयले वनमा आयआर्जन गरी वन समेतको संरक्षण गर्ने गर्दछन् ।
–––
