काठमाडौँ । निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएको जय नेपाल पार्टीले आफ्नो पहिलो केन्द्रीय कार्यसमिति बैठकमार्फत पार्टीको राजनीतिक दिशा, नीति तथा आगामी कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टी अध्यक्ष डा. धवलशमशेर राणाले बैठकमा सहभागी नेता तथा केन्द्रीय सदस्यलाई स्वागत गर्दै नयाँ राजनीतिक यात्रा स्पष्ट विचार र दृढ संकल्पका साथ अघि बढाउने बताएका छन् । पार्टीले शान्त, समुन्नत, आत्मनिर्भर र सभ्य नेपाल निर्माणलाई आफ्नो मुख्य लक्ष्य बनाएको जनाएको छ ।
जय नेपाल पार्टीले विधिको शासन, मानव अधिकार, पारदर्शिता, जवाफदेहिता, सुशासन, सामाजिक न्याय, समावेशिता र समानतामा आधारित राजनीति गर्ने जनाएको छ । साथै नेपालको ऐतिहासिक विरासत, मौलिक वैचारिक जग र राष्ट्रिय दायित्वलाई नयाँ पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
पार्टीले नेपाली समाजको धार्मिक, सांस्कृतिक र नैतिक धरोहरमा आधारित सभ्यता तथा विरासतको निरन्तरताको आवश्यकता रहेको जनाएको छ । राजनीतिक नेतृत्वमा सेवा भावना, कर्तव्यबोध र समर्पण कमजोर हुँदै जाँदा सामाजिक सहिष्णुता र एकतामा असर परेको पार्टीको निष्कर्ष छ ।
पार्टीले राष्ट्रियताको जग बलियो बनाउँदै राष्ट्रिय एकता, स्थिरता र आर्थिक समुन्नतिको बाटो तय गर्नुपर्नेमा जोड दिएको छ । राजनीतिलाई व्यक्तिगत स्वार्थको माध्यम बनाउने प्रवृत्तिका कारण राष्ट्रवाद र राजनीतिक एजेन्डाप्रति अविश्वास बढेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने पार्टीको धारणा छ ।
जय नेपाल पार्टीले आफ्नो राजनीतिक दर्शनलाई सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्र गरी तीन आधारमा अघि बढाउने जनाएको छ । पार्टीले सनातन धर्मअन्तर्गत नेपाललाई हिन्दु, बौद्ध, किरातलगायतका सनातन परम्पराको साझा थलोका रूपमा पुनःस्थापित गर्ने लक्ष्य राखेको छ । संवैधानिक राजसंस्थालाई अभिभावकीय, राष्ट्रिय एकता र राष्ट्ररक्षाको भूमिकामा रहने संस्थाका रूपमा पुनःस्थापित गर्ने पार्टीको नीति छ । त्यस्तै, बहुदलीय प्रजातान्त्रिक अभ्यास, विधिको शासन, भ्रष्टाचार नियन्त्रण र सुशासनमार्फत आर्थिक समुन्नति हासिल गर्ने पार्टीले जनाएको छ ।
जय नेपाल पार्टीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान, इतिहास, सभ्यता, संस्कृति, परम्परा र राष्ट्रिय एकताको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ ।
राष्ट्रियताको भावना, देशभक्ति, राष्ट्रवाद, प्रजातन्त्र, उदारवाद र उत्पादनमुखी प्रतिस्पर्धात्मक मिश्रित अर्थतन्त्रमा आधारित जनकल्याणकारी राज्य निर्माण गर्ने पार्टीको नीति छ । पार्टीले सनातन धर्म तथा संवैधानिक राजसंस्थासहितको प्रजातान्त्रिक शासन प्रणाली पुनःस्थापना गर्ने लक्ष्यसमेत अघि सारेको छ ।
नेपालको राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा, असंलग्न परराष्ट्र नीति तथा विश्व शान्तिप्रतिको प्रतिबद्धता सुदृढ गर्दै सम्मानित अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने पार्टीले जनाएको छ ।
विज्ञान, नवप्रवर्तन, प्रविधि विकास, डिजिटल सुशासन तथा ज्ञानमा आधारित अर्थतन्त्रको प्रवर्द्धन गर्दै सार्वजनिक सेवा प्रभावकारी, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने पार्टीको योजना छ । भ्रष्टाचार, दण्डहीनता, गरिबी, विभेद र अपराध न्यूनीकरण गर्दै रोजगारीमुखी, स्थिर, समृद्ध र आत्मनिर्भर नेपाल निर्माणमा योगदान गर्ने पार्टीले जनाएको छ । पार्टीले जल, जमिन, जंगल, जडीबुटी, उद्योग, कृषि र पर्यटन क्षेत्रमा लगानी तथा विकास गरी आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्ने नीति अघि सारेको छ ।
निःशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा सीप विकासमार्फत युवालाई शिक्षा र विकासका अवसर प्रदान गर्ने प्रतिबद्धता पनि पार्टीले जनाएको छ । युवाको नेतृत्व, महिला सशक्तीकरण, उद्यमशीलता, सीप, अनुसन्धान, सिर्जनशीलता तथा राष्ट्रिय विकासमा अर्थपूर्ण सहभागिता बढाउने पार्टीको योजना छ ।
त्यसैगरी वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा जलवायु उत्तरदायी विकासमार्फत वर्तमान र भावी पुस्ताप्रति राष्ट्रिय दायित्व पूरा गर्ने जनाएको छ । जय नेपाल पार्टीले हिमाल, पहाड र तराईलाई एकता, स्थिरता र समुन्नतिको सूत्रमा जोड्ने घोषणा गरेको छ ।
पार्टीले संवैधानिक राजसंस्था र धर्ममा विश्वास राख्ने, प्रदेशको पुनःसंरचना तथा भ्रष्टाचार न्यूनीकरण र सुशासन चाहने सबै नेपालीलाई एकजुट भएर अघि बढ्न आह्वान गरेको छ । आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक सक्षम तथा प्रतिभाशाली नागरिकलाई पार्टीसँग जोडिन पनि आह्वान गरिएको छ । जय नेपाल पार्टीले देशका ७७ वटै जिल्लामा संगठन निर्माणको प्रक्रिया सुरु गर्ने जनाएको छ। केन्द्रीय कार्यसमिति, प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म संगठन विस्तार गर्दै पार्टीलाई देशव्यापी रूपमा अघि बढाउने योजना रहेको छ ।
पार्टीले निर्वाचन आयोगमा दर्ता हुने क्रममा सहयोग गर्ने पार्टीपंक्ति तथा शुभेच्छुकप्रति आभारसमेत व्यक्त गरेको छ । जय नेपाल पार्टीले निर्वाचन चिह्नका रूपमा त्रिभुज प्राप्त गरेको छ। पार्टीका अनुसार त्रिभुजले हिमाल, पहाड र तराई तथा सनातन धर्म, राजसंस्था र प्रजातन्त्रको प्रतिनिधित्व गर्ने बताइएको छ ।

