काठमाडौं, ४ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले बागमती प्रदेशमा कसैको बहुमत नपुग्ने दावी गरेका छन् ।
पार्टीका प्रदेश सांसदहरूले केन्द्रिय निर्णय बिपरित नेकपा एमालेका प्रदेश सांसद किरण थापालाई मुख्यमन्त्रीमा समर्थन जनाए पनि प्रवक्ता श्रेष्ठले यस्तो दावी गरेका हुन् ।
‘व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन, बागमती प्रदेशमा १२ सांसद भएको राप्रपाबाट एकजना सांसदले एक्लैले समर्थन दिन सक्दैन र मिल्दा पनि मिल्दैन,’ श्रेष्ठको भनाइ छ, ‘एकजनाको मात्र भए पनि समर्थन मान्ने हो भनेपनि मुख्यमन्त्रीमा दाबी गर्नेको संख्या पुग्दैन, संख्या नपुगी गरिएको दाबीको अर्थ रहने छैन।’
उनका अनुसार बागमती प्रदेशको राप्रपा संसदीय दलको नेताको लेटरप्याडमा दिइएको भनिएको कथित समर्थनमा दलकै समर्थन नरहेको उनको थप दावी पनि रहेको छ । ‘किनकि, समर्थनको एजेण्डामा संसदीय दलको बैठक बसेकै छैन्, अनधिकृत हस्ताक्षरलाई मान्यता नदिन पार्टी केन्द्र, पार्टी अध्यक्ष र संसदीय दलको प्रमुख सचेतकले प्रदेश प्रमुखलाई आग्रह गरिसकेको छ,’ उनले भने ।
परिपक्व प्रदेश प्रमुखले अख्तियारको दुरुपयोग गर्नुहुने छैन भन्ने विश्वास राप्रपा केन्द्रले लिएको उनले जनाएका छन् ।

