रौतहट, २९ साउन । आँखाको सामान्य जाँचदेखि मोतियाविन्दु सम्मको उपचारका लागि बाहिर जानुपर्ने रौतहटका नागरिकको बाध्यता क्रमशः हट्ने भएको छ।
चन्द्रपुर नगरपालिकामा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आएसँगै स्थानीयस्तरमै गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध हुन थालेको हो।
चन्द्रपुर नगरपालिका र काठमाडौँस्थित नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानबीच भएको सम्झौताअनुसार केन्द्र सञ्चालनमा ल्याइएको हो। दुई पक्षबीच केन्द्र स्थापना तथा सञ्चालनका लागि २० वर्षे सम्झौता भएको छ।
चन्द्रपुर नगर प्रमुख सञ्जय कुमार काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रको औपचारिक शुभारम्भ गरिएको हो। कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत तथा नेपाल प्रहरीका पूर्व डिआईजी पिताम्बर अधिकारी, वरिष्ठ मानव संसाधन प्रबन्धक तथा पूर्व एसएसपी मुकेश कुमार सिंह, वडा नम्बर ५ का अध्यक्ष निलहरी कोइराला, इलाका प्रशासन कार्यालयका प्रमुख बिनोद पोखरेल, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी सत्यनारायण थापा, नगर अस्पतालका प्रमुख डा। अभिनन्दन श्रीवास्तव, स्वास्थ्य संयोजक राजेश कुमार ठाकुरलगायतको उपस्थिति थियो।
केन्द्र सञ्चालनसम्बन्धी सम्झौतापत्रमा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा। रिता गुरुङ र चन्द्रपुर नगर प्रमुख सञ्जय कुमार काफ्लेले हस्ताक्षर गरेका छन्।
हाल वडा नम्बर ५ स्थित नगर अस्पताल परिसरबाट सञ्चालन हुने केन्द्रमा दृष्टि तथा चश्मा जाँच, सामान्य आँखा परीक्षण, टेलि–अप्थाल्मोलोजी, आकस्मिक आँखा सेवा लगायतका सेवा उपलब्ध हुनेछन्।
त्यस्तै, मोतियाविन्दु भएका बिरामीलाई आवश्यक परामर्श तथा शल्यक्रियाका लागि प्रेषण गर्ने, आँखा उपचारसम्बन्धी शिविर सञ्चालन गर्ने तथा सुलभ मूल्यमा औषधि र चश्मा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
नगरपालिकाले निर्माण गरिरहेको नयाँ भवनमा भविष्यमा केन्द्रका लागि करिब १ हजार ५ सय वर्गफिट क्षेत्रफल उपलब्ध गराउने जनाएको छ।
आर्थिक अवस्था कमजोर भएका स्थानीय नागरिकलाई समेत उपचारबाट वञ्चित हुन नदिन नगरपालिकाले विशेष व्यवस्था गरेको छ। विपन्न नागरिक, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिले नगरपालिकाको प्रमाणिकताका आधारमा निःशुल्क वा विशेष छुटमा आँखा उपचार सेवा प्राप्त गर्न सक्ने छन्। यसका लागि चन्द्रपुर नगरपालिकाले प्रत्येक वर्ष न्यूनतम ५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने व्यवस्था मिलाएको जनाएको छ।
केन्द्र सञ्चालनमा आएपछि सामान्य आँखा जाँच तथा उपचारका लागि वीरगन्ज, भरतपुर वा काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता कम हुने नगरपालिकाको अपेक्षा छ। तिलगंगा आँखा प्रतिष्ठानले चन्द्रपुरमा मात्र सीमित नरही रौतहटका अन्य स्थानीय तहमा समेत आँखा उपचार सेवा विस्तार गर्ने तयारी थालेको छ।
प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी र वरिष्ठ मानव संसाधन प्रबन्धक मुकेश कुमार सिंहको सक्रियतामा कटहरिया र मौलापुर नगरपालिकामा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको छ। कटहरियाका नगर प्रमुख अजय प्रकाश जैसवाल र मौलापुरकी नगर प्रमुख रिना कुमारी साहले आ–आफ्नो पालिकामा केन्द्र सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
रौतहटका विभिन्न स्थानीय तहमा आँखा उपचार केन्द्र विस्तार हुँदै गएमा गाउँ–गाउँका नागरिकले आफ्नै पालिकामा नियमित आँखा जाँच र उपचार सेवा पाउनेछन्। यसले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने समस्या घटाउनुका साथै समय र खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ।
तिलगंगा प्रतिष्ठान र स्थानीय तहबीचको सहकार्यमा जिल्लाका विभिन्न क्षेत्रमा आँखा उपचार सेवा विस्तार हुनु नागरिकको आँखा स्वास्थ्यमा पहुँच बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

